भद्रपुर । केरखा स्टार क्लवले नगद एक लाख १ हजारसहित शिल्ड हात पारी झापा जिल्ला प्रथम एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी चुमेको छ । काकडभिट्टा फुटबल टे«निङ्ग सेन्टरले नगद ५१ हजारसहित शिल्ड प्राप्त गरि उपविजेतामा घोषित भएको छ । झापाको भद्रपुरस्थित मेची रंगशालामा बुधवार भएको फाइनल खेलमा काकडभिट्टालाई स्तब्ध पार्दै केरखाले उपाधी चुमेको हो । काकडभिट्टालाई शुन्यको विरुद्ध एक गोल गर्दै केरखा प्रथम भएको हो । पहिलो हाफ्को २३ औ मिनेटमा केरखाले गोल गर्दै खाता खोलेका थिए । केरखाको तर्फबाट सौजन यक्खाले पोष्टमा हानेको बल गोलकिपरले रोकेपनि बल किपरको हातबाट फुत्किएको फाइदा उठाउदै रोमण दनवारले गोल गरेका थिए । मुनाल क्लव भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकाडेमीद्धारा आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडीतर्फ केरखाका मनिस थापा, वेस्ट फर्वाडरतर्फ काकडभिट्टाका खमिर गिल्सन कन्दङ्गवा, वेस्ट गोल रक्षकतर्फ केरखाका रोमण लिम्वु, वेस्ट मिड फिल्डरतर्फ काकरभिट्टाका मिलन राई, उत्कृष्ट रक्षकतर्फ चन्द्रगढीका राम मर्डी, वेस्ट डिफेन्डरतर्फ चन्द्रगढीका रमेश राजवंशी, प्रशिक्षकतर्फ केरखाका विनोद गुरुङ्ग, हाइ स्कोरतर्फ सैनिकका विकास लिम्वु र उत्कृष्ट प्रदर्शनतर्फ केरखाका सौजन याक्खा घोषित भएका छन् । आयोजक समितिका संयोजक युगोलकिशोर राईको अध्यक्षतामा सम्पन्न खेलमा विजेतासहित उत्कृष्ठ खेलाडीहरुलाई प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले, वडा नम्बर ८ वडाध्यक्ष मनोज सुब्बा लगायतले पुरस्कार वितरण गरेका थिए । खेल प्रतियोगिता असोज २ गतेवाट सुरु भएको थियो ।