काठमाडौं/आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
हङकङस्थित मिसन रोड ग्राउण्डमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल घरेलु टोलीबीचको खेल नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा सुरु हुने छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
बम च्याम्पियनसिपको लागि पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली बुधबार नै हङकङ पुगिसकेका छन् ।
सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि पनि नेपाललाई च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । त्यसैले नेपालको लागि हङकङसँगको खेल निकै महत्वपूर्ण रहेको छ ।
आजको खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ । छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ । केन्यासँगको खेलमा अस्वस्थताका कारण खेल्न नसकेका कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाललाई हङकङ निकै चुनौती रहेको छ ।
यस्तै हङकङको मिसन रोड ग्राउण्डको बाउन्ड्री निकै सानो छ । सानो मैदान भएकै कारण सानो स्कोरले खेल जित्न नेपाललाई गार्हो छ । नेपालले उच्च भन्दा उच्च स्कोर बनाउनुपर्ने हुन्छ । यो मैदानमा ठुलो स्कोरको लक्ष्य समेत परिवर्तन हुने गरेको इतिहास छ । त्यसैले घरेलु टोलीविरुद्ध नेपाली ब्याट्सम्यानले उच्च स्कोर बनाउने कोशिश गर्नुपर्छ भने बलरहरुले घरेलु टोलीको बलरलाई काबुमा राख्नुपर्ने हुन्छ ।
हङकङ गएको नेपाली टोलीमा ब्याट्सम्यानको तुलनामा बलरहरु बढी छन् । नेपालको सधै सबल पक्ष बलिङ नै रहेको छ । घरेलु टोलिबिरुद्ध पनि नयाँ र पुराना बलरले ब्याट्सम्यानलाई काबुमा राख्नेछन् । यो पटक भेट्रान बलर शक्ति गौचन टोलीमा छैनन् । विरामी भएपछि उनलाई विश्राम दिइएको छ । तर, सुशान भारी, सुशिल कँडेल र ललित भण्डारीले भेट्रान खेलाडी शक्ति गौचनको स्थान लिने छन् । सुशिल कँडेल र ललित भण्डारी युवा खेलाडी हुन् । त्यसबाहेक सोमपाल कामी, सन्दिप लामिछाने, करण केसी र बसन्त रेग्मी समेत नेपालको मुख्य हतियार रहेका छन् ।
नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकर नेखेल्ने कारण नेपाललाई थप समस्या हुने छ । ज्वरो आएका कारण उनको ठाउँमा वैकल्पिकमा रहेका नरेश बुढाएरले स्थान पाएका छन् । नेपालमा रहेका नरेश बिहीबार नै हङकङ प्रस्थान गरेका छन् ।
नरेश बुढाएर ओपनर ब्याट्सम्यान हुन् । शरद नभएपनि नेपालको ब्याटिङलाइन कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, सागर पुनले सम्हाल्ने छन् । युवा ब्याट्सम्यानमा दिपेन्द्रसिंह ऐरी र अरिफ शेख पनि छन् । यता, सोमपाल कामी, बसन्त रेग्मी, करण केसीले पनि नेपाली ब्याटिङ लाइन फिनिसिङ गर्न सक्छन् ।
यता, नेपालसंगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं राउण्डमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।
अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई हुँदै चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।
तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ ।
हङकङमा रहेको नेपाली टोलि :
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
बसन्त रेग्मी
सागर पुन
विनोद भण्डारी
करण केसी
सोमपाल कामी
शुशिल कंडेल
कुशल भुर्तेल
सुसन भारी
आरिफ शेख
दिपेन्द्र सिंह ऐरी
सन्दिप लामिछाने
नरेश बुढाएर (वैकल्पिक बनेर गएका)
बाह्रखरी

































