काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा फाइनल यात्राका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ । खेल मलेसियाको किनरारा ओभल मैदानमा भइरहेको हो । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा अाएको छ ।

समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्नेछ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । खेलअघि नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गरेर सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धी भएको बताएका छन् ।

‘सेमिफाइनलमा पुग्नु निकै ठूलो प्राप्ती हो । हामीले निकै राम्रो खेलेका छौँ । हामीले लगातार राम्रो खेलेका छौँ । हाम्रो मेहनतले अहिले नतिजा दिइरहेको छ । परिस्थिति अलि कठीन थियो तर हामीले आफ्नो योजनाअनुसार नै काम गर्यौँ’ प्रशिक्षक दासले भने ।  अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने पनि उनले बताएका छन् । ‘अफगानिस्तानसँग हामीलाई सहज छैन । उनीहरुले निकै राम्रो खेलिरहेका छन् । उनीहरुलाई हाम्रो खेल राम्ररी थाहा छ । हामी अन्तिमसम्म पूरै मेहनत गरेर प्रस्तुत हुनेछौँ’ दासले भने ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । नेपालले आइतबार इतिहासमै पहिलोपटक भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको हो ।

नेपाल यसअघि अफगानिस्तानसँग एसीसी यु–१९ एलिट कपमा सन् २००७ मा ४८ रनले विजयी, २००९ मा ६ विकेटले पराजित, २०११ मा समूह चरणमा ६ विकेटले विजयी र फाइनलमा ६१ रनले पराजित भएको थियो । यस्तै आइसीसी यु–१९ वल्र्ड कप क्वालिफायरमा सन् २०११ मा नेपाल ४२ रनले विजयी भएको थियो । २०१७ मा भने नेपाल १ सय ४२ रनले पराजित पहिलो लिगमा र ९६ रनले दोस्रो लिगमा पराजित भएको थियो । एसीसी यु–१९ प्रिमियर लिगमा सन् २०१४ अफगानिस्तानसँग नेपाल ५ विकेटले पराजित भएको थियो । एसीसी यु–१९ प्रिमियर लिगमै सन् २०१५ मा नेपाल १० विकेटले पराजित भएको थियो ।

LIVE हेर्नुहोस्