एजेन्सी । ब्राजिलका पुर्व फुटबलर रोबिन्होलाई बलात्कारको आरोपमा ९ वर्षको जेल सजाय तोकिएको छ । इटालियन अदालतले रोबिन्होलाई सामूहिक बलात्कारमा दोषी देखिएपछि ९ बर्षको जेल सजाय तोकेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार ३३ वर्षीय ब्राजिलियन रोबिन्हो सन् २०१३ मा इटालीको मिलानमा भएको सामूहिक बलात्कारको मुद्दामा दोषी ठहरिएका थिए । इटालियन क्लब एसी मिलनबाट व्यवसायिक फुटबल खेलिरहेका समय रोबिन्होले  अल्बानियाकी २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेका थिए । एक नाइट क्लबमा रक्सीको नसामा बेहोसी भएका बेला रोबिन्होले  ती अल्बानियाकी युवतीलाई सामुहिक बलात्कार गरेको आरोप लागेको थियो । यता, रोबिन्होले आफूमाथि लागेको आरोप अस्विकार गर्दै आएका छन् । रोबिन्हो फैसला सुनाउदा अदालतमा समेत उपस्थित भएनन् । रोबिन्होले सोसियल साइट इन्स्टाग्राममा यो मुद्दामा आफ्नो संलग्नता नरहेको बताएका छन् । सान्तोष क्लबबाट व्यवसायिक फुटबल सुरु गरेका रोबिन्हो ५ वर्ष एसी मिलानबाट फुटबल खेलेका थिए ।  रोबिन्होले सन् २०१५ मा एसी मिलानबाट बाहिरिएका थिए । ब्राजिलियन पुर्व स्टार रोबिन्होले ब्राजिलबाट एक सयौं खेल खेलिसकेका छन् । ब्राजिलका लागि उनले २८ गोल गरेका छन् । हाल ब्राजिलियन क्लब एट्लेटिको मिनेरोबाट फुटबल खेल्दै आएका रोबिन्होले स्पेनिस क्लब रियल मड्रिडबाट ४ बर्ष र इन्ग्लिश क्लब म्यानचेस्टर सिटीमा २ बर्ष खेलिसकेका छन् ।