आइसीसी टी–ट्वान्टी विश्वकपको एशियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। आज सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली महिला टोली २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटियो।

मलेसियाकी इम्याइलिया इलियानीले सर्वाधिक २४ रन जोडिन्। त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन्।

नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए।

नेपालले प्रारम्भिक ब्याट्सवुमनको उत्कृष्ट सुरुवातसँगै २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो। टस हारेर पहिलो ब्याटिङका लागि उत्रिएको नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।

उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाउँदै दुर्भाग्यपूर्ण रुपमा मास इल्यासाको थ्रोमा रन आउट हुन पुगिन्। नेपालले दुई विकेट छिटो गुमायो। पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए। रोमा थापा पनि ६ रन बनाएर आउट भइन्। काजल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे।

यससँगै नेपाल समूहको चौथो स्थानमा रहेको छ। समूहको अन्तिम खेलमा भोलि नेपालले चीनसँग खेल्दैछ।