काकँरभिट्टा/ गोलरक्षक दिनेश थापाको उत्कृष्ट बचाउसँगै मनाङ मस्याङ्दी क्लब काठमाडौँ सडन डेथका आधारमा मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आज काँकरभिट्टा माविको खेल मैदानमा भएको खेल निर्धारित समयभित्र गोलरहित बराबरीमा सकिएपछि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत खेल ५–५ को बराबरी भएपछि सडन डेथका आधारमा निर्णय लिइएको थियो ।
जितका लागि मनाङका अनिल गुरुङ, विमल राना, बिमल बस्नेत, हेमन गुरुङ, डोना थापा, विक्रम लामा, दिनेश थापाले गोल गरेका थिए । रुपेन्देहीका निरज बस्नेत, रजिन धिमाल, रुपेश केसी, दिपक राई, दिलिप क्षेत्री, विजय धिमाल पनि गोल गरे । तर, सडन डेथमा सौरभ मगरले हानेको प्रहारमा मनाङका गोलरक्षक दिनेश थापा बाधक बनेपछि रुपन्देहीको सेमीफाइनल पुग्ने यात्रा समाप्त भएको थियो । त्यसअघि खेलको ११ औँ मिनेटमा रुपन्देहीका रजिन धिमालको क्रसमा विदेशी खेलाडी आवाले गोल गर्न सकेनन् । १२ औँ मिनेटमा मनाङका विमल घर्ती मगरले हानेको हेडरले जाली चुमे पनि अफसाइड भएका कारण स्कोर हुन सकेन । ४१ औँ मिनेटमा मनाङका विशाल राईले हानेको प्रहारले पनि गोलपोष्टको दिशा लिन सकेन । पहिलो हाफमा गोलरहित बराबरीमा खेल सकिएको थियो । खेलको ५० औँ मिनेटमा मनाङका स्टाइकर विमल घर्तीमगरले हानेको प्रहारमा विपक्षी गोलरक्षक दिलिप क्षेत्री बाधक बनेका थिए । सुजल श्रेष्ठ, अनिल गुरुङ, हेमन गुरुङ, विशाल राई, अञ्जन तामाङले हानेको प्रहार गोलमा परिणत हुन नसक्दा मनाङले निर्धारित समयमा कुनै पनि स्कोर गर्न सकेन । आइतवारको खेल सुदुर पश्चिम ११ र त्रिभूवन आर्मीबिच हुने आयोजक समितिका सदस्य रोषन काफ्ले बताए । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियोगिताका विजेता टिमले नगद ८ लाख १ हजार र उपविजेता टिमले नगद ४ लाख १ हजार प्राप्त गर्ने अध्यक्ष मिन बस्नेतले बताए ।