काठमाडौं । श्रीलङ्काकै आफ्ना अग्रज रोय लुक डायसको सुस्त ढाँचामा अभ्यस्त हुँदै गरेको नेपाली टीमलाई केही आक्रामक र व्याटिङ फोकस्ड गर्न नेपाली टीमको मुख्य प्रशिक्षकका रुपमा पुबुदु दासानायकेले धेरै गरेका छन् । उनकै प्रशिक्षणमा नेपालले २०१५ मा ट्वेन्टी ट्वेन्टीको विश्वकप खेलेको इतिहास लेखेको थियो । र हामीले कुनैपनि खेलको विश्वकपमा आफ्नो देशको झण्डा र जर्सि फर्फराएको दुर्लभ दृश्य हेर्न पाएका थियौं ।
डिभिजन ४ मा घिस्रिरहेको नेपाललाई डिभिजनका २ सम्म बढुवा गराउँदै विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्म उनैले डोहोर्याएका थिए । उनको खेलाउने सिकाउने तौरतरिकासँग खेलाडी यति नजिक र विश्वस्त थिएकि उनलाई प्रशिक्षक बनाइरहने कि नरहने भन्ने कुरा चल्दा कप्तान पारस खड्काले उनी नभए राजिनामा दिनसक्ने सम्मको चेतावनीपूर्ण धारणा सार्वजनिक गरेका थिए । एक प्रशिक्षकका लागि, पुरापुर फर्ममा रहेका खेलाडीले आफ्नो करियरकै गुरुदक्षिणा बिरलै चढाउलान् ।
हम्मेसि बोल्ल मन नगर्ने दासानायके जव नेपाली क्रिकेटको कुरा आउँथ्यो सिधै भन्थे ‘क्रिकेटको विकासका लागि यस्तो पाराले हुँदैन ।’ नेपालले आज उनै दासानायकेका सामुन्ने खेल्दैछ । नेपालको विपक्षी हुनेछ उनकै प्रशिक्षणमा रहेको अमेरिका । नेपाल आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिपको आफ्नो अन्तिम खेलका लागि हुने अभ्यासका क्रममा छ । आउँदो वुधबार र शुक्रबार युएइसँग हुने खेलका लागि नेपालले शुक्रबार अमेरिकासँग र आइतबार केन्यासँग अभ्यास खेल खेल्न लागेको हो ।
२०११ को अक्टोबरदेखि चार वर्ष नेपाली टीम सम्हालेका दासानायकेपछि नेपालले विदेशी प्रशिक्षक ल्याउन सकेको छैन । यसको असर राष्ट्रिय टीमको प्रदर्शनमा देखिन थालिसकेको छ । यसको दीर्घकालिन प्रभाव अझै धेरै हुने क्रिकेट पण्डितहरु बताउँछन् । दासानायके अहिले पनि नेपाली टीमबारे चासो राखिरहन्छन् ।
उनको चाख शुक्रबारको अभ्यास खेलमा नेपालले कस्तो खेल्ला भन्नेमा पनि देखिएको छ । शुक्रबार हुने अभ्यासका लागि अमेरिकाबाट युएइ उड्दैगर्दा उनले आफू धेरै पछि नेपाली टीम (प्रदर्शन) हेर्न आतुर रहेको ट्वीट गरेका छन् । आफ्ना गुरुका सामुन्ने नेपाली टीमले कस्तो प्रदर्शन गर्ला त्यो त हेर्न बाँकी नै छ । साँच्चै आफ्नो पुर्व टीमले बर्तमान टीमसंग गज्जप खेल्यो भने चाहिं दासानायके खुशी होलान कि दुखी ? खेलपछिको उनको प्रतिक्रिया पर्खिदै हामीचाहिं अनुमान गर्दैै गरौं है त ।
नेपाली टीम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, करण केसी, शक्ति गौचन, आरिफ शेख, दिपेन्द्रसिह ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ, ललितसिंह भण्डारी । बैकल्पिक – सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह ।