कोलकाता/ अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाले भारतीय सहर कोलकातामा तीन दिन बिताए। दोस्रोपटक भारत आएका म्याराडोनाको कोलकाता बसाइ विशेष बन्यो। फुटबलका समर्थकबाट भव्य स्वागत पाएका उनले सन् १९८६ को विश्वकप फुटबल जित्दाको पुरानो क्षणसँग साक्षात्कार हुन पाए। कोलकातामा म्याराडोनाले आफ्नै नाममा नामकरण भएको भव्य पार्क र आफ्नो प्रतिमा पनि आफैंले अनावरण गरे।
पार्कमा म्याराडोनाको १२ फिटको भव्य प्रतिमा राखिएको छ। उक्त प्रतिमामा म्याराडोनाले सन् १९८६ को विश्वकपको उपाधि बोकेका छन्। म्याराडोनाको प्रतिमामा सन् १९८० को उनको हेयर स्टायल पनि ठ्याक्कै उतारिएको छ। पार्कमा पुग्ने जोकोहीले म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले जितेको सन् १९८६ को विश्वकपलाई स्मरण गर्न सक्छन्। त्यसअघि अर्जेन्टिनाले सन् १९७८ मा पहिलोपटक विश्वकपको ट्रफी उचालेको थियो।
आइतबार कोलकाता आएका म्याराडोनालाई हजारौं समर्थकले भव्य स्वागत गरेका थिए। आफ्नो भव्य स्वागतबाट हौसिएका म्याराडोनाले आफू फुटबलको भगवान् नभई एक साधारण मानिस भएको प्रतिक्रिया दिए। ‘म फुटबलको भगवान् होइन, एउटा सामान्य फुटबल खेलाडीमात्र हुँ, म्याराडोनाले भने। उनले आफूलाई भगवान्को संज्ञा नदिन पनि समर्थकसँग अनुरोध गरे।
म्याराडोना सन् २००८ पछि पहिलोपटक कोलकाता आएका थिए। भारत भ्रमणका क्रममा म्याराडोनाले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीसँग ‘च्यारिटीु खेल पनि खेलेको समाचारमा जनाइएको छ। म्याराडोनाले ११ जना क्यान्सरपीडितलाई जनही १० हजार रुपैयाँ पनि प्रदान गरेका थिए। सोही अवसरमा उनले वातानुकूलित एम्बुलेन्स पनि हस्तान्तरण गरेका थिए। म्याराडोनाको कोलकाता भ्रमण गत सेप्टेम्बर १९ मा तय भएको थियो तर त्यस बेला सुरक्षाको कारण देखाउँदै उनको भ्रमण स्थगित गरिएको थियो।