धरान/धरानका शुक्रबहादुर राई छैटौ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधी जित्न सफल भएका छन । यो प्रतियोगिताबाट ३ स्पर्धाका विजेता शुक्र बहादुर राई ,प्रतिमा शेर्पा र सुबाष घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनौट हुन सफल भएका छन । गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले समग्रमा ११ ओभर २२७ स्कोरका साथ उपाधी जितेका हुन । उनले २ओभर ३८ मा फ्रन्ट नाईनको खेल सकाए । पहिलो र चौथो होलमा बर्डी प्रहार गरेपनि दोस्रो होलमा बोगी र सातौ होलमा ट्रिपल बोगी खेप्न बाध्य भए । यसपछि १५ औ र १७ औ होलमा एक एक सट गुमाउदा ब्याक नाईन पनि २ ओभर ३८ मा पुरा गरे । ७ओभर ७९ स्कोर सहित समग्रमा २३७ स्कोर जोडी बिपिन तामाङ दोस्रो भए । ८१ अंक सहित समग्रमा २४९ को नतिजामा सुरेश तामाङ तेस्रो भए । महिलातर्फ डिफेण्डिङ च्याम्पियन प्रतिमा शेर्पाले कसमिरा शाहलाई ३७ स्ट्रोकको भारी अन्तरमा हराउदै उपाधी रक्षा गरिन । ४ ओभर ७६ स्कोर गरी समग्रमा १४ ओभर २३० को नतिजामा ३७ स्ट्रोकको सहज जित हात पारिन । उनले दोस्रो,आठौ र नवौ होलमा बोगी प्रहार गर्दा चौथौ र सातौ होलमा बर्डीको सफलतासँगै फ्रन्ट नाईन १ ओभर ३७ मा पुरा गरिन । ब्याक नाईन भने ३ओभर ३९ मा सकाउने क्रममा १०औ,१२औ,१४औ र १७औ होलमा बोगी खेप्दा १८ औ होलमा बर्डी प्रहार गरिन । ९१ स्कोर जोडेकी कसमिरा शाह समग्रमा २६७ सहित दोस्रो र २९२ स्कोर सहित प्रतिभा राई तेस्रो भईन । प्रतियोगिताको १२ देखी १६ वर्ष उमेर समुहतर्फ भारतीय खेलाडी मोनिष शाहलाई १ स्ट्रोकले हराउदै सुबाष घिसिङ उपाधी जित्न सफल भए । उनले ४ओभर ७६ स्कोर सहित समग्रमा २३२ अंक जोडे । फ्रन्ट नाईन ईभन पार ३६ मा पुरा गरेका सुबाषले दोस्रो होलमा एक सट खेर फालेपनि चौथो होलमा बर्डी प्रहार गरे । यसपछि १० औ होलमा बर्डी प्रहार गरेपनि १४औ र १७ औ होलको बोगी तथा १५ औ होलको ट्रिपल बोगीले ब्याक नाईन ४ ओभर ४० मा पुरा गरे । १ ओभर ७३ स्कोर सहित समग्रमा २३३ को नतिजामा मोनिष शाह दोस्रो र २३८ स्कोर सहित बिनोद तामाङ तेस्रो भए । नेपाल गल्फ संघ र गोकर्ण फरेष्ट रिसोर्टद्वारा संयुतरूपमा आयोजित ३ दिने प्रतियोगिताको प्रमुख प्रायोजक आईएसएमी प्राली हो । विजयी खेलाडीहरूलाई नेपाल औलम्प्क कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ,नेपाल गल्फ संघका अध्यक्ष टासी घले,पूर्व अध्यक्ष मधुबर याकतुम्बा,विदेशी प्रशिक्षक किम बाल्डवीन,एनजिएका उपाध्यक्ष पवित्र कार्कीले,काठमाण्डौ जिल्ला गल्फ संघका अध्यक्ष मदन राणा र रोयल नेपाल गल्फ क्लबका क्यापटेन नरेनद्र कुमार राईले पुरस्कार वितरण गरे । प्रतियोगितामा काठमाण्डौ उपत्यका लगायत पोखरा, धरान र भारतका गरी २३ खेलाडीको सहभागिता रहेको थियो ।