धरान/वडास्तरीय रेडबुल गोधुली कपको अठारौं संस्करण पुष १५ देखि सुरु हुँदै छ । प्रतियोगितामा धरानका २० वटा टिमहरु सहभागी हुँदै छन् । धरानको १ नम्बर वडादेखि २० नम्बर वडाका टीमहरु सहभागी हुने आयोजक गोधुली क्लवले जनाएको छ । एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगितामा यसपटक विजेताले नगद १ लाख रुपैया प्राप्त गर्ने छ । यो सत्रौं संस्करण भन्दा २५ हजार रुपैयाले बढी हो । त्यस्तै उपविजेताले नगद ५० हजार रुपैया प्राप्त गर्ने छ । यो गतवर्ष भन्दा १० हजार रुपैयाले बढी हो । त्यस्तै वेष्ट प्लेयर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी, फाइलन खेल म्यान अफ दी म्याच, वेष्ट गोलरक्षकलाई टाइटल उपाधि प्रदान गरिने क्लवका उपाध्यक्ष सतीस केसीले बताए । वेष्ट प्लेयरले १० हजार रुपैया, सर्वाधिक गोलकर्ता ७ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । अन्यलाई जनही ५ हजार रुपैया प्रदान गरिने उनले बताए । पुष २९ सम्म प्रतियोगिता सञ्चालन हुने छ । गतवर्ष धरान–१३ ले उपाधि उचालेको थियो भने धरान–१७ उपविजेता बनेको थियो । गोधुली क्लवले १९ लाख ४० हजार रुपैयाको लगानीमा पौने १५ धुर जग्गासमेत खरिद गरिसेकेको छ ।