एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको रोमाञ्चक खेलमा आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन् । शीर्ष चारमा आफूलाई पुर्याउने होडमा रहेको आर्सनलले पहिलो गोल गरेको पाँच मिनेट भित्रमा गोल संख्या तीन पुर्याए पनि जित भने निकाल्न सकेन ।
अवे मैदानमा भएको खेलमा २६ औं मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । ५२ औं मिनेटमा मोहम्मद सालहले लिभरपुलका लागि गोल गर्दै अग्रता दोब्बर पारे । तर त्यसपछि भने आर्सनलले लगातार तीन गोल गर्यो, त्यो पनि पाँच मिनेट भित्रमा । ५३ औं मिनेटमा एलेक्स सान्चेले आर्सनलका लागि पहिलो गोल गरे ।
५६ औं मिनेटमा ग्रानिट जाकाले आर्सनलका लागि गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि मेसुट ओजिलले गोल गर्दै सुरुमा पछि परेको आर्सनललाई ३–२ को अग्रता दिलाए । तर ७१ औं मिनेटमा रोबर्टो फिरमिनोले लिभरपुलका लागि सुन्दर बराबरी गोल गरे र टिमलाई हारबाट जोगाए ।
दोस्रो हाफमा पाँच मिनेट भित्रमा तीन गोल गरेको आर्सनल घरेलु मैदानमा जित निकाल्नबाट वञ्चित भयो । बराबरीपछि चौथो स्थानको लिभरपुलको १९ खेलबाट ३५ तथा लिगको आधा खेल सकिँदा ३४ अंकसहित आर्सनल पाँचौँ स्थानमा छ ।