एजेन्सी । स्टार स्ट्राइकर द्वय क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल शनिबार बेलुका हुने एल क्लासिको लागि शतप्रतिशत फिट रहेको रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिको (रियल मड्रिड भर्सेस बार्सिलोना) नेपाली समय अनुसार शनिबार बेलुका पौने ६ बजे रियलको मैदान सान्टियागो बर्नाबेउमा हुँदैछ ।

शीर्ष स्थानको बार्सिलोना भन्दा ११ अंकले पछि चौथो स्थानमा रहेको रियल मड्रिडका प्रशिक्षक जिदानले आफ्ना दुवै स्टार खेलाडी सिजनको पहिलो र महत्वपूर्ण एल क्लासिकोका लागि तयार रहेको बताएका हुन् । रोनाल्डोको पिँडौलामा समस्या देखिएको भए पनि उनले शुक्रबार पूर्ण रुपमा प्रशिक्षणमा भाग लिएका छन् ।

यस्तै बेल पनि पिँडौलाकै समस्याबाट बाहिर आएका क्लबले जनाएको छ । बेलले गएको सेप्टेम्बरदेखि ला लिगामा खेलेका छैनन् । तर उनी क्लब विश्वकप अन्तर्गतको खेलमा बेन्चमा देखिएका थिए । क्लब विश्वकपका दुवै खेलमा रियल विजयी भएको थियो । रियल मड्रिडले पछिल्लो पटक भएका दुई एल क्लासिको जितेको छ, दुवै यहि वर्ष नै भएका थिए ।

स्पेनिस सुपर कप अन्तर्गत पहिलो लेगमा २–१ तथा दोस्रो लेगमा २–० ले रियलले बार्सिलोनालाई हराएको हो । रियललाई बार्सिलोनामाथि ३९ वर्षपछि लगातार तेस्रो पटक हराउने मौका छ, रियलले यसअघि सन् १९७८ मा बार्सिलोनामाथि लगातार तीनपटक जित दर्ता गरेको थियो । यो सिजन लिगमा एक खेल पनि नहारेको बार्सिलोनालाई अपराजित यात्रा कायम गर्ने तथा गएको अगस्टमा बेहोरेको एल क्लासिको हारको बदला दिने मौका छ ।