पाँचथर । फिदिममा शुक्रबारदेखि जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा ताप्लेजुङको मिशन युनाइटेड क्लवलाई ट्राइब्रेकरमा ४–२ हराउँदै झापाको बिर्तामोड युनाइटेड क्लव बिजयी भएको छ ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सोझै ट्राइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा बिर्तामोड युनाइटेडका कर्ण लिम्बू, सुमिन मैनाली, बिक्की चौधरी र दिलन लोक्ताम चुकेनन् । मिशन युनाइटेडबाट भने बिकेश लिम्बू र बिकाश राईको प्रहारले मात्र जाली चुम्न सक्यो ।

तेन्जिङ लामा र युवराज लिम्बूको प्रहारमा बिर्तामोड युनाइटेडका गोलकिपर बिशाल मुखिया बाधक बने । बिर्तामोड युनाइटेडका दिलमले खेलको म्यान अफ दि म्याच बन्दै नगद दश हजार हात पारे । खेलको चौंथो मिनेटमा आशिष चापागाईँको गोलबाट बिर्तामोड युनाइटेडले अग्रता लिए पनि मिशन युनाइटेडका बिकेश लिम्बूले १५ औं मिनेटमा बराबरी गोल फर्काउँदै अग्रता भङ्ग गरेका थिए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ताप्लेजुङले निकै दबाब झेल्नु परेको थियो । बिर्तामोडले गोल गर्ने राम्रा अवशरलाई पटक–पटक खेर फाल्दा खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।