एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले घरेलु मैदानमा भएको सिजनको पहिलो र निकै महत्वपूर्ण एल क्लासिकोमा बार्सिलोनासँग पराजित भएपनि आफ्नो रणनीतिप्रति कुनै गुनासो र पछुतो नरहेको बताएका छन् । स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार बेलुका भएको खेलमा रियल मड्रिड चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ३–० ले पराजित भएको थियो । लुइस स्वारेज, लियोनल मेस्सी र एलेक्स भिडालको गोलबाट बार्सिलोनाले ला लिगामा लगातार तेस्रो पटक रियल मड्रिडलाई उसकै मैदानमा हराउन सफल भएको हो । हारपछि रियल मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा १४ अंकले पछि परेको छ । ह्याण्ड बलका कारण ड्यानी कार्भाहाल सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो । रियलका लागि करिम बेन्जिमाले गरेको प्रहार बारमा लागेको थियो भने क्रिष्टियानो रोनाल्डोले दुईपटक सुन्दर प्रहार गरे पनि गोल भने गर्न सकेनन् । तर हारका बाबजुद पनि प्रशिक्षक जिदानले आफूलाई खेलमा लिएका निर्णय र रणनीतिमा कुनै पछुतो नरहेको बताएका हुन् । ‘म यहाँ निर्णय गर्नकै लागि छु’ खेलपछि जिदानले भने ‘पहिलो हाफमा हामीले गोल गर्न सकेको भए अवस्था अर्कै हुने थियो ।’ तर हारको जिम्मेवारी आफूले लिने उनले बताएका छन् । उनले भने ‘हारका लागि म जिम्मेवारी लिन्छु । सबैले हाम्रो ला लिगा सम्भावना सकियो भनेका छन्, तर मलाई त्यस्तो लाग्दैन । हामी अझै गर्न सक्ने अवस्थामा छौं ।’ रियलको जिम्मेवारी सम्हालेको दुई वर्षमा जिदानले क्लबलाई दुईपटक च्याम्पियन्स लिग र गएको वर्ष ला लिगाको उपाधि दिलाएका छन् । तर यो सिजन ला लिगामा रियल चौथो स्थानमा छ । अब क्रिसमसको बिदापछि रियल मड्रिड निकै बलियो भएर फर्किने र त्यसपछि नरोकिने जिदानले बताएका छन् ।