काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) को दोस्रो दिन मंगलबार चितवन टाइगर्स र पोखरा राइनोजबीच खेल हुँदैछ। तर दुर्भाग्य, खेलमा चितवनका कप्तान पृथु बाँस्कोटा त्रिवि क्रिकेट मैदानमा नभई टेकुस्थित प्रहरी हिरासतमा हुनेछन्।

गत बुधबार दरबारमार्गको डेजा भू नाइट क्लबमा भएको तोडफोडको घटनापछि प्रहरीले पक्राउ गरी उनलाई ठगी मुद्दामा कारबाही अघि बढाएको छ। उनीसहित सात जनालाई हिरासतमा राखी महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्दा प्रक्रिया अघि बढाइएको छ। इपिएलको मुखमा भएको उक्त घटनाले चितवनलाई मात्र समस्या परेको छैन, पृथुको करिअरलाई समेत धक्का लागेको छ।

गत बुधबार राति डेजा भू क्लबमा चर्चित अमेरिकन डिजे मार्समेलोलाई ल्याएर पार्टी गर्न लागिएको थियो। मार्समेलो बुधबार दिउँसो बैंककबाट काठमाडौं आए। होटल द्वारिकाजमा बसेका उनलाई फुड प्वाइजन भयो। जसका कारण उनी डेजा भू जान सकेनन्। उनले आफू बिरामी भएर आउन नसकेको भन्दै सामाजिक सञ्जालमार्फत माफी पनि मागे।

उता आयोजकले भने ६ हजारभन्दा धेरै टिकट बिक्री गरिसकेको थियो। २५ सयदेखि ६ हजार दरसम्मका टिकट बिक्री गरिएको थियो। महँगो दरमा टिकट किनेर मार्समेलोको डिजेइङमा झुम्न गएका दर्शक उनी नआएपछि आक्रोशित भई क्लबमा तोडफोड गरे।

भोलिपल्ट महानगरीय अपराध महाशाखाले घटनाबारे अनुसन्धान अघि बढायो। नियोजित रुपमा ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले आयोजकद्वय रितेश मारवाडी र राजेश महर्जनसहित क्लबका सञ्चालकहरुलाई समेत पक्राउ गर्‍यो। क्लबमा पृथुको पनि सेयर थियो। यसैले पृथुसहित सञ्चालकहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी र मिलन श्रेष्ठ विरुद्ध प्रहरीले ठगी मुद्दा दायर गरेको छ।

डिजे बिरामी हुँदा आफूहरुलाई समस्या भएको र पैसा फिर्ता गर्न तयार हुँदाहुँदै प्रहरीले पक्राउ गरेर दुःख दिएको आयोजकहरुको गुनासो छ। उता क्लबका सञ्चालकहरु भने आफूहरुले भेन्यु मात्र दिएको तर ठगी मुद्दा दायर गरिएको भन्दै प्रहरीसँग रुष्ट छन्।

यता चितवन टाइगर्सले पनि आफ्ना कप्तान निर्दोष भएको बताउँदै आएको छ। चितवनले प्रेस विज्ञप्तिमार्फत पृथु कार्यक्रमको आयोजक नभएकाले निर्दोष रहेको दाबी गरेको थियो।

घटनाको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी भने डिस्कोको क्षमताभन्दा धेरै टिकट बिक्री गर्न दिएकाले घटनामा क्लबका सञ्चालकहरु पनि दोषी भएको दाबी गर्छन्।

‘यत्रो कार्यक्रम गर्दा क्लबले प्रहरीलाई जानकारी पनि दिएको थिएन’, एसएसपी लोहनी भन्छन्, ‘क्लबले आफ्नो क्षमता अनुसार मात्र टिकट बिक्री गर्न दिनुपर्थ्यो।’

टिकट काट्नेहरुमध्ये ४ जनाले मात्र प्रहरीमा उजुरी गरेका छन्। त्यसैको आधारमा देशका एक चर्चित क्रिकेटर समेत प्रहरी हिरासतमा छन्। यस्तो किसिमको ठगी मुद्दामा जति जनाको उजुरी पर्छ, सोही अनुसार अदालतको फैसला हुन्छ। जसअनुसार करिब १० हजार रुपैयाँको ठगी मुद्दामा पृथुको क्रिकेट करिअर धरापमा परेको छ।

ठगी मुद्दामा प्रहरीले २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने भएकाले अझै केही दिन पृथु प्रहरी हिरासतमै हुनेछन्।