काठमाडौं । टोटनह्यामका स्ट्राइकर ह्यारी केन सन २०१७ मा युरोपका टप फाइभ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। इंग्लिस प्रिमियर लिगमा साउथम्पटनविरुद्ध ह्याट्रिक गर्दै केनले बार्सिलोनाका स्टार लियोनल मेसीलाई पछि पारेको हुन्।

यससँगै केनको गोल संख्या ५६ पुगेको छ। दोस्रो स्थानमा रहेका मेसीले ५४ गोल गरेका छन्। केनको ह्याट्रिकको मदतमा टोटनह्यामले साथउम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्‍यो।

उसको जितमा बाँकी २ गोल डेली अली र हिउङ मिङ सोनले गरे। प्रिमियर लिगअन्तर्गत गएराति नै भएका अन्य खेलमा लिभरपुलले स्वान्सी सिटीलाई ५-०, चेल्सीले ब्राइटनलाई २-० र वाटफोर्डले लेस्टर सिटीलाई २-१ ले पराजित गरेका छन्।

यसका अलावा म्यानचेस्टर युनाइटेड र बर्नली २-२, बर्निमाउथ र वेस्टह्याम ३-३, हफडर्सफिल्ड र स्टोक सिटीले १-१ तथा वेस्टब्रोम र एभर्टनले गोलरहित बराबरी खेलेका छन्।