पाँचथर । ७ पुषदेखि पाँचथरको फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । फिदिम माविको खेलमैदानमा जारी प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा बिभागिय टोली त्रिभुवन आर्मी बिरुद्ध मोरङ–११ बिजयी भए सँगै सेमीफाइनल समिकरण पूरा भएको हो । अत्यन्तै प्रतिश्पर्धात्मक खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि सोझै ट्राइब्रेकर मार्फत खेलको निर्णय लिइएको थियो । ट्राइब्रेकरमा मोरङ–११ का बुद्धिमान राई, शुसील राई, मिन धिमाल र मिक्सेन तामाङले गोल गरे । त्रिभुवन आर्मीको तर्फबाट राजिव गुरुङ र एरिक विष्टले गोल गरे । सेसेहाङ लिम्बूको प्रहार पोलमा ठोकिएको थियो भने राजन गुरुङको प्रहारले पोष्टको दिशा लिन सकेन । खेलको ३५ औं मिनेटमा सन्तोष न्यौपानेको गोलबाट मोरङले अग्रता लिएको थियो । पहिलो हाफको अधिकांश समय मोरङले बल आफ्नो नियन्त्रणमा राखेको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै ५८ औं मिनेटमा आशिष शाक्यको गोलबाट त्रिभुवन आर्मी खेलमा फर्किएको थियो । दोस्रो हाफमा उसले मोरङलाई दबाबमा राखेको थियो । खेलको म्यान अफ् दि म्याच मोरङका शुसील राई बने । मोरङले अब फाइनल प्रवेशका लागि पुष १४ गते डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेडको सामना गर्नुपर्नेछ । प्रतियोगिता अन्तर्गत बिहीबारदेखि सेमीफाइनलका खेल सुरु हुनेछन् । बिहीबार दिउँसो एक बजेदेखि सुरु हुने प्रतियोगिताको पहिलो सेमीफाइनलमा सुनसरी–११ र अग्नी रुपन्देही–११ बीच आमने सामने हुने आयोजकले जनाएको छ ।