फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले क्रिष्टियानो रोनाल्डो अब आफ्नो हिरो नरहेको बताएका छन् । एमबाप्पेले रोनाल्डो आफ्नो बाल्यकालदेखिको हिरो रहेको तर अब त्यो अवस्था सकिएको बताएका हुन् ।
रोनाल्डो अब आफ्नो आइडल वा हिरो नरहेको बताएका हुन् । एमबाप्पे यो सिजन रियल मड्रिड जाने सम्भावना थियो, किनकी रियलले उनलाई क्लब भित्र्याउन प्रयास गरेको थियो । एमबाप्पेले रियलको प्रस्ताव लत्याउँदै मोनाकोबाट आफ्नो बाल्यकालको क्लब पेरिस सेन्ट–जर्मेन आए ।
गएको सिजन मोनाको तथा यो सिजन पिएसजीमा प्रभावशाली प्रदर्शन गर्दै आएका १९ वर्षे एमबाप्पेलाई रियल मड्रिड स्टार रोनाल्डोको ठाउँ लिन सक्ने क्षमता भएको खेलाडीको रुपमा लिने गरिएको छ । एमबाप्पे र रोनाल्डो च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा आमनेसामने हुँदैछन् । स्पेनिस पत्रिका मार्कासँग एमबाप्पेले भने ‘उनी (रोनाल्डो) मेरो बाल्यकालका हिरो हुन्, उनीसँग मैले भेटेको पनि छ्, त्यो समय निकै उत्साहपूर्ण पनि थियो । म सानो हुँदा उनीको खेल हेरेर उत्साहित हुन्थेँ । तर अब त्यो समय सकियो । अब म बर्नाबेउ खेल्नका लागि जाँदैछु र जितका लागि पनि ।’ उनले अघि भने ‘म अहिले उनको प्रतिस्पर्धी हुँ र प्रतिस्पर्धी पनि छु ।
म जित चाहन्छु, यसमा आफ्नो अघि को छ भन्ने कुराले कुनै अर्थ राख्दैन । हामी जित्न चाहन्छौं ।’ पाँचपटकसम्म बालोन डी’ओर जितेको खेलाडी रोनाल्डोबाट धेरै सिक्न सकिने तर अरु पनि त्यस्ता खेलाडी रहेको एमबाप्पेको भनाई छ । पिएसजीमा रहेका नेइमार आफ्नो हिरो रहेको र उनी रोनाल्डोको स्तरकै खेलाडी रहेको एमबाप्पेको भनाइृ छ ।
प्राविधिक रुपमा त नेइमार रोनाल्डो जस्तै रहेको उनले बताए । यस्तै एडिसन काभानी पनि राम्रो खेलाडी रहेको र आफूले उनबाट पनि सिकिरहेको एमबाप्पेले बताए । नेइमार निकै सहयोगी र आत्मिय रहेको र उनले गर्दा आफूलाई सजिलो भएको पनि एमबाप्पेले बताएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आउँदो फेब्रुअरी १४ मा पिएसजीले रियल मड्रिडसँग बर्नाबेउमा खेल्नेछ ।