पाँचथर । फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगितामा पूर्वेली टोली हाबि भएका छन् । प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल अग्नी रुपन्देही–११ पनि बिहीबार सम्पन्न पहिलो सेमीफाइनलमा सुनसरी–११ सँग ३–१ गोल अन्तरले पराजीत भएपछि अब प्रतियोगिताको उपाधि डौडमा पूर्वेली टोली मात्र रहेका छन् । फिदिम माविको खेलमैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा १४ मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै सुनसरीलाई अग्रता दिलाएका थिए । सुनसरीका लागि खेलको ७४ र ८२ औं मिनेटमा सौजन याक्खा र हेमन्त थापा मगरले गोल गर्दै स्कोर फराकिलो पारे । हेमन्तको सुन्दर पासलाई सौजनले खेर फालेनन् भने तीर्थको क्रसलाई हेमन्तले सदुपयोग गरे । रुपन्देही–११ का लागि इञ्जुरी समयमा छिरिङ गुरुङले सान्तवना गोल फर्काए । खेलमैदानको साइजलाई हेरी सुरु देखि नै रक्षापंतिलाई बलियो राखेर ‘निरन्तर पोष्ट आक्रमण’ रणनीतिमा खेल्दा सफलता हात लागेको सुनसरीका प्रशिक्षक श्याम मानान्धरले बताए । रुपन्देहीबाट खेलेका अफ्रिकन मुलका खेलाडि जिग्रिले पाएको सुन्दर अवशरहरुलाई गोलमा परिणत गर्न नसक्दा खेल गुमाउँनु परेको कप्तान दिलिप क्षेत्रिले प्रक्रिक्रिया दिए । त्यस्तै रजिन सुब्बाको केही राम्रा प्रयासहरुलाई सनुसरीको रक्षापंत्ति र गोलकिपर बिवश चौधरीले बिफल पारिदिएका थिए । सुनसरीका विष्णु सुनुवारले खेलको म्यान अफ् दि म्याच बन्दै नगद दश हजार प्राप्त गरे । उपाधिका लागि अब सुनसरीले शुक्रबार हुने अन्तिम सेमीफाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लव र मोरङ–११ बीचको बिजयी सँग खेल्नुपर्नेछ । प्रतियोगितामा बिभागिय टोली त्रिभुवन आर्मी, एपिएफ, डिवाइन ब्वाइज युनियन जस्ता राम्रा टोलीको सहभागिता रहे पनि अन्तिम चारमा भने रुपन्देही बाहेक सबै पूर्वेली टोलीले मात्र आफ्नो स्थान सुरक्षित राख्न सके । १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिताको बिजेताले नगद तीन लाख र उप बिजेताले नगद दुई लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । फोटो ः गोलका लागि संघर्ष गर्दै सुनसरीका खेलाडि (निलो जर्सी) र रुपन्देहीका खेलाडि (पहेंलो जर्सी) फोटो ः सन्देश सुब्बा ।