पानवारी । धरानलाई १ नं. प्रदेशको राजधानी घोषणाको माग गर्दै चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको स्वतन्त्र समितिले ५ दिनदेखिको रिले अनसन जारी रहेको छ ।
गत आइतबारदेखि धरानको भानुचोक स्थित घण्टाघरको दक्षिण तर्फ बसेको अनसनमा ऐक्यबद्धता जनाउदै बिहीबार पनि धरानका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु अनसनमा बसेका छन् । बिहीबार ब्राम्हण समाज धरान उपमहानगर कमिटि, नेपाल दलित संघ सुनसरी, परियार सेवा समाज सुनसरी, शाक्य कल्याण संस्था, पारालिगल धरान उपमहानगर कमिटि, सरस्वती बाल आश्रम, साना व्यवसायी संघ धरान लगायत धराने कलाकर्मीहरुको पनि ऐक्यबद्धता रहेको थियो । स्वतन्त्र समितिका सहसंयोजक हिमाल लिम्बूले सम्पूर्ण धरानेहरु स्वतस्फर्त रुपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भइरहेको जानकारी दिए । लिम्बूले ‘१ नं. प्रदेशको राजधानी बनाउन विभिन्न सहरको अध्ययन गरी बुझाइएको प्रतिवेदनमा धरान १ नं. मा रहेको’ भन्दै ‘यदि यस सरकारले धरानलाई राजधानी घोषणा नगरे सम्पूर्ण धरानबासी मात्र नभइ १ नं. प्रदेशबासीकै लागी दुर्भाग्य हुने’ बताए । उनले भने –‘यो सरकारले अहिले अस्थायी राजधानी मात्र तोक्ने’ भन्दै ‘अस्थायी राजधानीको लागी त झन् धरानको विकल्पमा अन्य कुनै सहर नभएको’ दाबी गरे । समितिले सरकारलाई दबाब दिन चलाएको हस्ताक्षर अभियानमा अहिलेसम्म ५ हजार भन्दा बढीले सहभागीता जनाइसकेको समितिका संयोजक अइन्द्रविक्रम वेघाले जानकारी दिए ।