काठमाडाै । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोर्डन आयल मिल, आरती भेजिटेबल प्रोडक्ट उद्योग, रूपन्देहीका सिद्धार्थ रिफाइनरी एन्ड सोलभेन्ट इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ आयल इन्डस्ट्रिज, ललितपुरको श्रीराम घिउ प्याकेजिङ उद्योग, सुनसरीको दुहवीस्थित स्वस्तिक आयल इन्डस्ट्रिज, पोखराको सुजल डेरीलगायतले उत्पादन गरेका घिउतेल खान योग्य नरहेको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णकाअनुसार यस्ता तेलको प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्न सक्छ ।
मानव स्वास्थ्यलाई हानि पुर्याउने गरी दूषित र न्यून गुणस्तरको खानेतेल तथा घिउ उत्पादन गरेको अभियोगमा सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ११ उद्योगविरुद्ध १६ वटा मुद्दासमेत दायर गरेको छ । गत आर्थिक वर्ष २०७३/७४ मा कुल दुई सय ५७ वटा यस्तै प्रकृतिका मुद्दा दायर गरिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा दुई सय ६ वटा मुद्दा दायर भएकोमा सबैभन्दा बढी खानेतेलसम्बन्धी थियो ।