चेल्सी म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले स्टोक सिटीमाथि ५–० को प्रभावशाली जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो ।

चेल्सीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको हो । चेल्सीका लागि एन्टोनिओ रुडिगर, ड्यानी ड्रिङ्कवाटर, पेड्रो, विलियन र डाभिडे जापाकोस्ताले एक एक गोल गरे ।

तेस्रो मिनेटमा रुडिगरले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । त्यसको ६ मिनेटपछि ड्रिङ्कवाटरले अग्रता दोब्बर पारे ।

२३ औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को अग्रता लियो । चेल्सीका लागि ७३ औँ मिनेटमा विलियन र ८८ औँ मिनेटमा जापाकोस्ताले गोल गरे र चेल्सी ५–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २१ खेलबाट ४५ अंक भएको छ । चेल्सीले राति नै भएको खेलमा बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेको छ भने शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १३ अंकले पछि छ । राति नै भएको खेलमा स्वान्सी सिटीले वाट्फोर्ड तथा बोर्नमाउथले एभर्टनलाई २–१ ले हरायो ।