काठमाडौं/ कांग्रस नेता गगन थापा र डा.रामशरण महतलाई एउटै व्यक्तिले बम प्रहार गरेको खुलेको छ। नेत्र बिक्रम चन्द विप्लवका कार्यकर्ता राजीव स्याङतानले दुवै नेतामाथि बमले आक्रमण गरेको प्रहरीले जनाएको छ।

थापालाई बम हानेको घटनाका पक्राउ पररेका स्याङतानलाई काठमाडौं प्रहरीले नुवाकोट प्रहरीमा बुझाएको छ। थापामाथि बम हानेको मुद्दामा उनी अदालत र जिल्ला प्रशासनबाट धरौटीमा छुटेपछि नुवाकोट पठाइएको हो।

नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै स्याङतान लगायतको समूहले गत मंसिर १७ गते ककनीमा बम विस्फोट गराएको थियो । स्याङतानलाई नुवाकोट ल्याएर ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाइएको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले बताए।

प्रहरीका अनुसार ककनीमा बम लिएर घटनास्थलमा पुग्ने र पड्काउने घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको छ। । बिष्फोटमा परी एउटा गाडि ध्वस्त भएको थियो भने पाँच जना घाइते भएका थिए।  थापामाथि बम हानेको आरोपमा ५ जना पक्राउ परेकोमा २ जनालाई जेल चलान भएकोमा तीन जना धरौटीमा छुटेका छन्।