इंग्लिस लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्होले मंगलबार बार्सिलनोका खेलाडीसँग भेटघाट गरेका छन् । उनले लुइस स्वारेजसँग सेल्फी खिचेका छन् भने जेरार्ड पिके, आन्द्रेस इनिएस्टा, पाउलिन्होसहितका खेलाडीलाई भेटेका छन् ।
स्वारेज र कोन्टिन्होले लिभरपुलमा सँगै खेलेका थिए । कोन्टिन्होले गोलरक्षक ज्यापर सिलेसेनसँग पनि भेट गरेका छन् । स्वारेजले कोन्टिन्होलाई स्वागत गर्दै सफलताको शुभकामना पनि दिएका छन् । २५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बार्सिलोनाले लिभरपुलसँग कोन्टिन्होलाई एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने विषयमा सहमति गरेको हो ।
गएको समर विण्डोमा लगातार तीनपटक प्रयास गर्दा पनि असफल भएको बार्सिलोना जनवरी विण्डोमा भने कोन्टिन्होलाई क्लब भित्र्याउन सफल भएको हो । उनले बार्सिलोनामा अनुबन्ध हुनु सपना विपनामा परिणत भए जस्तै गरेको बताएका छन् ।
कोन्टिन्हो सन् २०१३ को जनवरीमा इन्टर मिलानबाट ८५ लाख पाउण्डमा लिभरपुल आएका थिए । बार्सिलोनाले गएको समर विण्डोमा कोन्टिन्होका लागि अन्तिम पटक एक सय १८ मिलियन तिर्ने प्रस्ताव गरेको थियो । तर त्यो लिभरपुलले अस्वीकार गरेको थियो ।