पानवारी । पानवारी भलिबल प्रतियाेगिता अन्तर्गत दोस्रो संस्करणको विजेता डुम्राहा भलिबल क्लब पहिलो खेलबाटै बाहिरिएको छ । धरान–६ स्थित सिमलचौरी खेल मैदानमा भइरहेको पानवारी भलिबल कपको तेस्रो संस्करणको उद्घाटन खेलमा झापा टाइगरसँग साविक विजेता डुम्राहा भलिबल क्लब पराजित भएको हो । बिहीबार भएको उद्घाटन खेलको पहिलो सेट २५–१६ ले जितेको डुम्राहा लगातार अरु दुई सेटमा पराजित भएको थियो । झापा टाइगरले पहिलो सेट गुमाइसकेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच डुम्राहाका सरोज हायु घोषित भएका थिए । त्यस्तै दोस्रो खेलमा धरान भलिबल क्लबले पूर्वी पृतना हेडक्वाटर इटहरीलाई सोझो सेटमा पराजीत गर्दै दोस्रो चरणमा पुगेको छ । एकदमै रोमाञ्चक एवं प्रतिष्पर्धात्मक खेलमा धरान भलिबल क्लबले पूर्वी पृतना आर्मि टिमलाई २५–२२ र २५–२३ ले पराजीत गरेको थियो । खेलको म्यान अफ द म्याच आर्मिका ढकबहादुर मगर घोषित भएका थिए । आजको पहिलो खेल विहान १० बजे भाविमूलय युवा क्लब भोजपुर र पूर्व क्षेत्रीय प्रहरी रानीबिच हुनेछ त्यस्तै दोस्रो खेल आयोजक सयपत्री बोइज युनियन क्लब र महेन्द्र क्याम्पस धरान र तेस्रो खेल झापा टाइगर झापा र बाझगरा युवा भलिबल क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ३५ तोलाको चाँदीको रनिङ ट्रफिका साथै नगद रु ५१ हजार पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु ३१ हजार पुरस्कारका साथै ट्रफि र मेडल प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुनिल भण्डारीले बताएका छन् । प्रतियोगितामा प्रदेश नं. १ का विभिन्न १२ टिमको सहभागिता रहेको छ भने प्रतियोगिताको फाइनल खेल यही माघ २ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले भने –‘नेपालको राष्ट्रिय खेलकुद भलिबलको प्रबद्र्धन गर्ने काममा स्थानीय युवाहरु लागेकोमा खुसी लागेको छ ।’ साथै आगामि दिनमा प्रतियोगिता अझ स्तरीय हुने विश्वास गरे । उनले स्थानीय सरकारले सकेको सहयोग उपलब्ध गराउने विश्वास दिलाउदै खेल मैदानको घेराबारा साथै स्तरोन्नतीको लागी बजेट छुट्याइने बताए ।