पानवारी । तेस्रो पानवारी भलिबल कपको आयोजक सयपत्री बोइज युनियन क्लब पनि दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजकले धरानको महेन्द्र बहुमुखी क्याम्पसलाई सोझो सेटमा पराजीत गरी दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो सेट २५–१६ ले जितेको आयोजकले दोस्रो सेटमा धेरै मेहनत गर्नुपरेको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक रहेको दोस्रो सेटमा आयोजकले महेन्द्र क्याम्पसलाई २७–२५ ले पराजीत गरेको थियो । खेलको म्यान अफ द म्याच आयोजक टीमका रोशन विक भएका थिए । त्यस्तै तेस्रो पानवारी भलिबल कपमा झापा टाइगर सेमिफाइनलमा पुग्न सफल भएको छ । झापा टाइगरले बाझगरा युवा भलिबल क्लबलाई पराजीत गरी सेमिफाइनलमा पुगेको हो । झापा टाइगरले पहिलो सेटमा कमजोर प्रदर्शन गर्दे १५–२५ मा बाझगरालाई सुम्पेको थियो भने त्यसपछिका दुवै सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । झापा टाइगरले दोस्रो सेटमा २५–११ मा बाझगरालाई पाखा लगाएको थियो भने तेस्रो सेट पनि २५–१५ ले पाखा लगाएको थियो । खेलको म्यान अफ द म्याच बाझगराका प्रविण राई घोषित भएका थिए । पानवारी भलिबल कप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय रानीले भोजपुरको भाविमूल युवा क्लबलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । प्रहरीले पहिलो सेट २५–२१ ले गुमाएको भएपनि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेटमा २५–१२ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको थियो । खेलको म्यान अफ द म्याच भाविमूल युवा क्लबका सन्तोष तामाङ घोषित भएका थिए । शनिबारको पहिलो खेल १ नं. प्रदेश प्रहरी कार्यालय रानी र तरहरा युवा भलिबल क्लबका विच हुनेछ भने दोस्रो खेल आयोजक सयपत्री बोइज युनियन क्लब पानवारी र त्रिवेणी युवा भलिबल क्लब मोरङका विच हुने र तेस्रो खेल धरान भलिबल क्लब र फुङनाम स्पोर्टीङ क्लब इलामबीच हुने आयोजकले जानकारी दिएको छ । शुक्रबार भएको खेलबाट झापाको झापा टाइगर सेमिफाइनलमा पुगेको छ भने अन्य तीन टोली शनिबार हुने खेलबाट सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको विजेता टिमले ३५ तोलाको चाँदीको रनिङ ट्रफिका साथै नगद रु ५१ हजार पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु ३१ हजार पुरस्कारका साथै ट्रफि र मेडल प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुनिल भण्डारीले बताएका छन् । प्रतियोगितामा प्रदेश नं. १ का विभिन्न १२ टिमको सहभागिता रहेको छ भने प्रतियोगिताको फाइनल खेल यही माघ २ गते हुने आयोजकले जनाएको छ ।