काठमाडौं/ नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबारमात्रै स्वदेश फर्कने भएका छन् । उनको केही रिपोर्ट आउन बाँकी रहेकाले भ्रमण लम्बिएको अध्यक्ष ओलीको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी मंगलबार काठमाडौँ फर्कने तयारी भए पनि रिपोर्ट आउन ढिलाइ भएकाले दुई दिन भ्रमण लम्बिएको बताइएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बिहीबार मध्याह्न साढे १२ बजे थाइ एयरवेजको उडानबाट उनी स्वदेश फर्कने जानकारी दिएका छन् ।

ओली नहुँदा कार्यदल सुस्त                                                                                                                                                    गत बुधबार एमाले माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा र प्रदेशसभा गठनमा तालमेल र पद फाँडफाँड गर्न कार्यदल बनाए पनि काम अघि बढ्न सकेको छैन । केही औपचारिक र अनौपचारिक छलफल भए पनि कार्यदलले तालमेलको खाका तय गर्न सकेको छैन । कार्यदलका नेताहरूले अध्यक्ष ओली स्वदेश फर्किएपछि नेतृत्व तहबाटै छिनोफानो गर्ने जानकारी दिएका छन् ।