काठमाडौं/ सिनेमा लालपूर्जालाई दर्शकले रुचाएका छन् । रिलिजको पूर्वसन्ध्यामा निर्माताले राजधानीमा भव्य प्रिमियर आयोजना गरेका थिए ।

प्रिमियरमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, कुमार नगरकोटी, सृष्टि श्रेष्ठ आकर्षण बने । निगम श्रेष्ठ निर्देशित सिनेमालाई खासगरी बौद्धिक दर्शकले रुचाएका छन् ।

अभिनेता कार्कीले लालपूर्जाले आफ्नो करियरमा इँट्टा थप्ने बताए । ‘मलाई नेगेटिभ असर पार्छ जस्तो लाग्दैन र करियरमै राम्र्रै फाइदा पुग्ला,’ अन्तर्मुखी स्वभावका कार्कीले भने ।

प्रेमी सौगातसँगै बसेर सृष्टिले समेत फिल्म हेरिन् । उनले बिपिन र सौगातलाई मुलुककै उत्कृष्ट अभिनेताको उपमा दिइन् । अभिनेता कमलमणि नेपालले फिल्ममा रंगमञ्च हावी भएको आरोप खण्डन गरे ।

लेखक एवम् अभिनेता नगरकोटीले लालपूर्जाले बलिउडको ह्याङओभर तोड्ने विश्वास व्यक्त गरे । ‘दर्शकले नयाँ स्वाद पाउनुहुनेछ,’ उनले भने, ‘यसले नेपाली दर्शकलाई भारतीय स्वादबाट पर लैजानेछ ।’

चाँडै उनले लालपूर्जा टीमसँग मिलेर नयाँ सिनेमा निर्देशन तयारी थालेका छन् ।