भद्रपुर । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मनाङ मर्स्याङ्दी क्लबका खेलाडी विशाल राई बर्ष २०७३ को उत्कृष्ट पुरुष खेलाडीका रुपमा पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाद्वारा आइतबार साँझ विर्तामोडमा आयोजित अवार्ड वितरण कार्यक्रममा उत्कृष्ट महिला बर्ष खेलाडीका रुपमा महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री पुरस्कृत भइन् ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षकमा नेपाल पुलिस क्लबका क्रिकेटका प्रशिक्षक मनोज कटुवाल पुरस्कृत भए । उत्कृष्ट युवा खेलाडीका रुपमा झापा ११ का डिफेन्डर देवेन्द्र तामाङ पुरस्कृत भए । पिपुल्स च्वाइस् टिममा झापा ११ पुरस्कृत भयो । पुरस्कृत खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
बर्ष पुरुष खेलाडीको पुरस्कारका लागि झापा ११ फुटबल टिमका कप्तान योगेश गुरुङ, चेसका भुपेन्द्र निरौला र फुटबलका राष्ट्रिय टोलीका सदस्य विशाल राई मनोनयनमा परेका थिए। बर्ष महिला खेलाडीको पुरस्कारका लागि रुविना क्षेत्री (क्रिकेट), एस्तर राई (कराँते) र सुलप मगर (बक्सिङ) मनोनयनमा परेका थिए ।
युवा वर्ष खेलाडीका लागि देवेन्द्र तामाङ (फुटबल), सवनम राई (क्रिकेट) र पुजन उपरकोटी (फुटबल) मनोनयनमा परेका थिए भने वर्ष उत्कृष्ट प्रशिक्षकमा संजय राई (फुटबल), मनोज कट्वाल (क्रिकेट) र सीता राई (कराँते) मनोनयनमा परेका थिए।
पिपुल्स् च्वाइज् अवार्डका लागि भने झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड फुटबल क्लब मनोनयनमा परेका थिए। उत्कृष्टलाई नगद १५ हजार सहित अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा सहारा नेपालका तर्फबाट कार्यकारी निर्देशक महेन्द्र गिरीले झापा ११ खेलाडी देवेन्द्र तामाङलाई दुई बर्षसम्म २५ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने घोषणा गरे भने निगाले सिमेन्टका तर्फबाट होम पाण्डेले झापा ११ का कप्तान योगेश गुरुङलाई मासिक २५ हजार रुपैयाँ दुई बर्षसम्म दिने घोषणा गरे ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । मञ्चका अध्यक्ष रमेश रमदर्शी राईको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी, उद्योगी, व्यापारी,पत्रकार,कलाकार लगायतको सहभागिता रहेको थियो ।
झापामा खेलकुद अवार्ड बितरण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































