[caption id="attachment_70519" align="aligncenter" width="900"] तस्बिरः गाेलनेपालडटकम[/caption]

कास्की– पोखरामा जारी १६ औँ संस्करणको आहा रारा गोल्ड कपमा भारतको सिक्किम युनाईटेड क्लबलाई ३–० गोल अन्तरले हराउँदै सुनसरीको धरान फुटबल क्लबले आफ्नो विजय सुरुवात गरेको छ । खेलको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको धरानले ६१ औँ मिनेटमा खाता खोलेको थियो । धरानका लागि पहिलो गोल रमन लिम्बुले गरे ।

गोललगत्तै बल आफ्नो पकटमा पारेको धरानले सिक्किमविरुद्ध पहिलो गोल गरेको २ मिनेटपछि दोस्रो गोल गर्न सफल भयो । खेलको ६३ औं मिनेटमा सजन राईले गोल गरे । पेनाल्टीनजिक रहेको बललाई निसान लिम्बु गर्न चुकेपछि उक्त बललाई सजनले गोल गरी धरान २ गोलको अग्रता दिलाए र खेलको ७४ औं मिनेटमा निसान लिम्बुले दिएको पास बललाई धिरेन लिम्बुले हेडमार्फत पुन गोल गरि जीत पक्का गरेका हुन् । खेलमा धरानका निसान लिम्बु म्यान अफ दी म्याच घोषित भए ।

दबाबमा परेको सिक्किम भारतले गोल गर्ने राम्रा अवसर पाएपनि गोल गर्ने सकेन । सिक्किमका दिपेश मगरले खेलको ३५ औं मिनेटमा गोल गर्ने अवसर पाएपनि धरानका सरोज राईले खाली पोष्टको बल बचाउ गर्दा उक्त गोल सिक्किमका लागि र्दुभाग्य सावित भयो । पहिलो हापमा गोल गर्ने केहि अवसर खेर गए पनि दोश्रो हापमा पछि दबाबमा परेको सिक्किमले राम्रो खेल प्रदर्शन गर्न सकेन ।

धरानका प्रशिक्षक अर्जुन राईले हिजो मंगलबार नै ईटहरिमा भएको खेलमा सहभागी भएर रातारात पोखराको आहा रारा कपमा प्रतियोगिता खेल्दा पहिलो हाफमा राम्रो प्रदर्शन गर्न सकेनन् । थकानले गर्दा खेलाडीहरुले पहिलो हाफ राम्रो मुभ लिन नसकेपनि दोस्रो हाफपछि खेललाई राम्रो लयमा ल्याउन सफल भए । बिहीबार सशस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध सिएमसी संकटा क्लबबीच तेश्रो प्रि–क्वाटरफाईनल खेल हुने छ ।