काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी कुमार थापाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्टार नेइमारसँग भेटेका छन्। युरोपियन फुटबल महासंघ (युइएफए) ले सञ्चालन गर्ने फुटबल व्यवस्थापन सम्बन्धी कोर्सका लागि युरोपमा रहेका थापाले गत सोमबार नेइमारसँग भेट गरेका हुन्।
थापासँगै कोर्स गरिरहेका पिएसजीका टिम संयोजक म्याक्सवेलको पहलमा नेइमारसँग भेट भएको हो। कोर्सका लागि जेनेभामा रहेका बेला म्याक्सवेलले नेइमारसँगको भेट जुराइदिएका थापाले टेलिफोनबाट नेपाल लाइभलाई बताए।
नेइमारसँग पिएसजीको अभ्यास हुने मैदानको भिआइपी कक्षमा भेट भएको थापाले बताए।
'नेइमारसँग भिआइपी कक्षमा भेट भएको हो। मैले नेपालबाट आएको जानकारी दिँदा उनी मुस्कुराए,' थापाले भने, 'भाषाको समस्याले गर्दा धेरै कुरा भएन।'
विश्वकै सर्वाधिक महँगा स्टार खेलाडी नेइमारसँग भेट्दा खुसी लागेको थापाले बताए।
नेइमारसँगै थापाले मिडफिल्डर जुलियन ड्राक्सलर र डिफेन्डर ड्यानी आल्भेसलाई पनि भेटेका थिए।
थापा स्नातकोत्तर सरहको दुईवर्षे कोर्षका लागि छानिएका एक मात्र एसियाली खेलाडी हुन्। कोर्सका लागि उनी गत कात्तिकमा युरोप गएका थिए। कोर्सका लागि उनले २७ हजार अमेरिकी डलरको छात्रवृत्ति पाएका थिए।
कोर्समा विश्वभरबाट २५ जना सहभागी छन्।
सन् २०१९ को नोभेम्बर १४ सम्म सञ्चालन कोर्स फुटबल प्रतियोगिता सञ्चालन र व्यवस्थापनबारे सैद्धान्तिक र व्यावहारिक विषयमा केन्द्रित छ। कोर्ष अमेरिका, स्विटजरल्यान्ड, फ्रान्स, इंग्ल्यान्ड, स्पेन, नेदरल्यान्ड्स र जर्मनीमा सञ्चालन हुनेछ।
नेपालका कुमार थापासँगै २००२ को विश्वकप विजेता ब्राजिलियन टिमका जिलबर्टो सिल्भा, सन् २०१५ को महिला विश्वकप विजेता जर्मनीकी आनेका खान, स्पेनका पूर्व खेलाडी मेन्डिएटा, फ्रेन्च क्लब पिएसजीका टिम संयोजक म्याक्सवेल, आइभरी कोस्टका पूर्व खेलाडी तथा स्कटिस क्लब सेल्टिकका सहायक प्रशिक्षक कोलो टुरोले पनि सँगै कोर्ष गरिरहेका छन्।
थापाले गत बुधबार फ्रेन्च कप अन्तर्गत पिएसजी र गुइनगाम्पबीचको खेल हेरेका थिए। सो खेलमा पिएसजी ४-२ गोलले विजयी भएको थियो।