पानवारी । हिसान स्पोर्टस मिट अन्तर्गत भएको फुटबल खेलमा इटहरीको कस्तुरी कलेज, धरानको धरान मावि, इटहरीकै सुष्मा गोदावरी कलेज र इटहरीकै चामुण्डा मावि विजयी भएका छन् । सोमबार धरानको एन्फा एकेडेमीमा भएको खेलमा विजयी सबै टोली क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको उद्घाटन खेलमा कस्तुरी कलेजले धरानको नेशनल एकेडेमीलाई ट्राइब्रेकरमा ३–० गोल अन्तरले पराजीत गरेको थियो । निर्धारित समय एक एक गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरबाट निर्णय लिइएको थियो । ट्राइब्रेकरमा कस्तुरी कलेजका आशिष राई, शैलेन्द्र लुइटेल र रामकुमार कार्कीले गोल गरे भने नेशनल एकेडेमीका मिलन घिमिरे, एलिश तामाङ र सरोज राई तीनै जनाको प्रहार गोल पोष्ट बाहिरीएको थियो । खेलको म्यान अफ द म्याच कस्तुरी कलेजका उमेश तामाङ घोषित भएका थिए । निर्धारित समयमा नेशनल एकेडेमीका सरोज राई र कस्तुरी कलेजका उमेश तामाङले गोल गरेका थिए । सोमबार दोस्रो खेलमा धरान माविलाई १–० गोल अन्तरले पराजीत गरी विश्व आदर्श विजयी भएको छ । धरान उच्च मावि विरुद्ध विश्व आदर्शका मञ्जील तामाङले गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । त्यस्तै सुष्मा गोदावरी कलेजले धरानको विजयपुर माविलाई २–१ गोल अन्तरले पराजीत गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । सुष्मा गोदावरीको तर्फबाट सगुनकुमार श्रेष्ठ र सम्यम बस्नेतले गोल गरेका थिए भने विजयपुरको तर्फबाट सान्त्वना गोल सनम लिम्बूले फर्काएका थिए । खेलको म्यान अफ द म्याच सुष्मा गोदावरीका सम्यम बस्नेत घोषित भएका थिए । सोमबारै भएको अन्तिम खेलमा चामुण्डा माविले धरानको समिट माविलाई १–० गोल अन्तरले पराजीत गरेको छ । खेलको म्यान अफ द म्याच समेत घोषित भएका चामुण्डाका रोहण मगरले चामुण्डाको तर्फबाट गोल गरेका थिए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई मेडल प्रदान गरिएको फुटबल खेल संयोजक बालजित राईले बताए । खेलको उद्घाटन एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राईले गरेका थिए । खेलमा १६ टिमको सहभागीता रहेको छ भने फाइनल खेल १९ गते हुने आयोजकले जानकारी दिएको छ । भोलीको खेल ग्रिन पिस एकेडेमी र युरेका मावि, धरान आदर्श र अल्पाइन कलेज, भिक्टरी मावि र डिपोट मावि त्यस्तै कोशी सेन्ट जेम्स स्कुल र सगरमाथा कलेजबीच हुने जनाइएको छ ।