शनिश्चरे/आफ्नी सानी छोरीको हविगतले निकै चिन्तित बनेका झापाको दमक ७ का सुवास चौधरी र मीना चौधरी दम्पत्तीमा यसबेला एकाएक खुसी पलाएको छ ।

टाँउको ठूलो हुने रोगबाट पीडित आफ्नी २ वर्षीय छोरी पवित्राको आर्थिक अभावका कारण उपचार हुन नसकेको अवस्थामा यसबेला आएर आर्थिक सहयोग जुटेर सफल शल्यक्रिया भएपछि उनीहरुमा खुसी छाएको हो । ज्याला मजदुरी गर्ने विपन्न परिवारका उनीहरुमा छोरी तन्दुरुस्त वन्ने कुरामा केही दिनदेखि पलाएको आशा खुसीमा परिणत भएको छ ।

वालिका पवित्राको नगरपालिका प्रमुख रोमनाथ ओली सहितका नगरका अधिकारीले उद्धार गरी नोवेल अस्पताल विराटनगरमा पुर्याएपछि उनको टाँउको शल्यक्रिया भएको छ । मंगलवार नगर प्रमुख ओली, क्लवका अध्यक्ष गौतम, लायन्सकर्मी बुद्धिशेखर भट्टराइ र मनोज अग्रवाल गएर बालिकाको अवस्थाबारे जानकारी लिदै उपचारका लागि सहयोग पनि गरेका थिए । बालिकालाइ आइसियूबाट झिकिएको र बालिका हाँस्न तथा खेल्न थालेको लायन्सकर्मी बुद्धिशेखर भट्टराइले बताए ।

राम्रोसग बोल्न तथा कुरा बुझ्न थालेपनि फोका जस्तो भएर टाउको अस्वभाविक बढ्न थालेपछि उनले टाउको उठाउनै नसक्ने हुन थालिन् । सानोमा केही ठूलो टाउको थियो । तर दिनदिनै वढ्दै गएर उसले आँखा नै छोप्न थालेर हेर्न समेत समस्या भएको आमा मीनाले भनिन् ‘दवाई गर्ने पैसा नभएर घरमा त्यसै राखेको बेला नगरपालिकाले चासो राखेर पैसा सहयोग जुटाएर छोरीले नयाँ जीवन पाएकोमा ज्यादै खुसी लागेको छ ।’ एकबर्ष अघि एउटा सानो फोको आएको अहिले बढेर डरलाग्दो अवस्थामा आएको पनि उनले सुनाइन् ।

वालिकाको त्यस्तो हविगत थाहा पाएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल सहितको टोलीले बालिकाको तत्काल उपचारका लागि ६ दिनअघि उद्धार गरेर विराटनगरको नोवेल अस्पताल पुर्याएका थिए । त्यसपछि उनको उपचारमा आर्थिक सहयोग समेत जुटन् थालेको छ ।

उनको उपचारमा लायन्स क्लव अफ माउण्ट एभरेष्टको सक्रियतामा दमक नगरपालिकाले बनाएको उपचार कोषमा ६२ हजार सहयोग जम्मा भएको छ । नोवेल अस्पतालमा उपचार सुरु गरिएकी बालिकाको सहयोगार्थ लायन्सर्कीहरुले ब्यक्तिगत रुपमा सहयोग जुटाएर कोषमा सहयोग गरिएको क्लवका अध्यक्ष रुद्र गौतमले बताए । क्लवका तृतिय उपाध्यक्ष मनोज अग्रववाल, लायन्सकर्मी गोकुल श्रेष्ठ, विमल खतिवडा, कृष्णभक्त सुवेदी, अशोक चौधरी, राम थपलिया, तीर्थनारायण श्रेष्ठ, केन्द्र प्रसाई सहितले गरेर ५१ हजार रुपैयाँ कोषमा जम्मा गरिएको गौतमले जानकारी दिए ।

क्लवको पहलमा नै थप ११ हजार रुपिया पनि कोषमा जम्मा गरिएको छ । यसैगरी लायन्सका पूर्व डिस्ट्रिक गर्भनर भीम घिमिरेले ५ हजार १ सय र लायन्स क्लव अफ स्वीट सिटीले पनि ५ हजार १ सय रुपिया कोषमा प्रदान गरेका छन् । तृतिय उपाध्यक्ष अग्रवालका अनुसार लायन्स क्लव मार्फत नै कल्पना सुवेदीले ५ हजार १ सय र जय श्रेष्ठ तथा शान्ति पाख्रिनले ५ हजार रुपैयाँ उपलब्ध गराएको रकम पनि कोषमा जम्मा भएको छ । लायन्स क्लवका डिस्ट्रिक सेकेण्ड भाइस गभर्नर राजन खत्रीले लायन्स क्लव अफ माउण्ट एभरेष्ट र नगरपालिकाको कामको खुलेर प्रशंशा गरेका थिए ।

बालिकाको उपचारमा सहयोग गर्न इच्छुकहरुका लागि नगरपालिकाले नै प्रभु बैकमा सहयोग कोषका लागि खाता समेत खोलेको छ । दमक नगरपालिका (राहत कोष) खाता नंं ०१४००१००९८४६१२०००००१ मा सहयोग गर्न नगरपालिकाकाले आव्हान गरेको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाल, क्लवका अध्यक्ष रुद्र गौतम, उपाध्यक्ष मनोज अग्रवाल, सदस्य बुद्धिशेखर भट्टराइ सहितको टोली नोवेल अस्पताल पुगेर बालिकाको उपचारको बिषयमा चासो राख्दै बिशेषज्ञहरुसंग छलफल समेत गरेको छ ।