पानवारी । हिसान सुनसरी स्पोर्टस् मिट अन्तर्गत भइरहेको फुटबल प्रतियोगितमा क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन् । बुधबार धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा विजयी हुदैग्रिनपिस एकेडेमी इटहरी, सेन्ट जेम्स स्कुल इटहरी, कस्तुरी कलेज र धरान उच्च मावि सेमीफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा धरान आदर्श स्कुललाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा पुगेको छ । निर्धारित समयको खेल एक एक गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । खेलमा ग्रिनपिसको तर्फबाट सुरज चौधरीले गोल गरेका थिए भने चौधरी म्यान अफ द म्याच समेत घोषित भएका थिए । धरान आदर्शको तर्फबाट रेवस मास्केले गोल गरेका थिए । ट्राइब्रेकरमा धरान आदर्शका तर्फबाट रेवस मास्के, अमेश माझिले गोल गरेका थिए भने सौगात थापा र अषिस राईले गोल गर्न सकेनन् । ग्रिनपिस एकेडेमीका तर्फबाट सचिव राई, सृजन गुरुङ, अविशेख भण्डारी र आदित्य चौधरीले गोल गरेका थिए । बुधबार भएको दोस्रो खेलबाट कोशि सेन्ट जेम्स स्कुल इटहरी विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । कोशीले डिपोट स्कुल धरानलाई १–० गोल अन्तरले पराजित गरेको हो । कोशीको तर्फबाट खेलको म्यान अफ द म्याच अनिश चौधरीले गोल गरेका थिए । त्यस्तै बुधबार नै भएको तेस्रो खेलमा जित निकाल्दै कस्तुरी कलेज इटहरी पनि सेमिफाइनलमा प्रवेश गरेको छ । कस्तुरीले इटहरीको सुष्मा गोदावरी कलेजलाई १–० गोल अन्तरले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो । कस्तुरीको तर्फबाट एलन राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कस्तुरी कलेजका गोल किपर अविशेख खड्का घोषित भएका थिए । बुधबार भएको अन्तिम क्वाटर फाइनल खेलमा धरान उच्च माविले चामुण्डा मावि इटहरीलाई २–० गोल अन्तरले पराजीत गरी सेमिफाइनल प्रवेश गरेको छ । धरान उच्चको तर्फबाट कप्तान मञ्जिल गुरुङ र अनिष तामाङले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान उच्च माविका सन्तोष लिम्बू घोषित भएका थिए । खेलमा घोषित भएका म्यान अफ द म्याचलाई पदक प्रदान गरिएको खेल संयोजक बालजित राईले बताए । बिहीबार कस्तुरी कलेज इटहरी र ग्रिनपिस एकेडेमी इटहरी सेमिफाइनलमा प्रतिष्पर्धा गर्दैछन् भने धरान उच्च मावि धरान र कोशी सेन्ट जेम्स इटहरीबीच सेमिफाइल खेल हुने बताइएको छ । १६ टिम सहभागी प्रतियोगिताको फाइनल खेल १९ गते धरान स्थित एन्फा एकेडेमीको खेल मैदान हुने खेल संयोजक बाजित राईले बताएका छन् ।