काठमाडाै । ब्याटिङमा उपकप्तान ज्ञानेन्द्र मल्ल र बलिङमा भर्खरै आईपीएल टोली दिल्ली डेयरडेभिल्समा आबद्ध सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले लगातार दोस्रो जित निकालेको छ ।

आईसीसी एकेडेमी ओभल १ मा बुधबार भएको खेलमा नेपालले यूएई ‘ए’लाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । नेपालले मंगलबार यूएई ‘ए’ लाई नै २५ रनले पराजत गरेको थियो । ३ सय ३४ रनको लक्ष्य पछ्याएको यूएई ४० ओभर २ बलमा १ सय ४० रनमा समेटियो । यूएईका लागि मोहम्मद कसिमले सर्वाधक ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन् । यूएईलाई सस्तैमा लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए । कप्तान पारस खड्का, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र शक्ति गौचनले विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय ५४ रनको शतकीय इनिंस खेले । उनले पहिलो विकेटका लागि दिलिप नाथसँग १ सय ४२ रनको महŒवपूर्ण साझेदारी गरेका थिए । दिलिप ६४ रनमा आउट भए । आरिफ शेखले ४१ रना नटआउट रहे । दीपेन्द्रसिंह ऐरी ३४ तथा अनिलकुमार शाह १४ रनमा आउट भए । नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेल शुक्रबार खेल्नेछ । त्यसपछि नेपाल डिभिजन–२ का लागि नामिविया प्रस्थान गर्नेछ । डिभिजन टु ८ देखि १५ फेब्रुअरीसम्म प्रतियोगितामा नेपालसहित नामिबिया, यूएई, केन्या, क्यानाडा र ओमन रहेका छन् ।