काठमाडौं / खेलाडीहरूको प्रेम सम्बन्धको विषयमा धेरै कुरा बाहिर आउने गरेको छ। तर, एकजना क्रिकेटर यस्ता पनि छन्, जसले आफ्नो प्रेमका लागि देश नै छोडे। ती खेलाडी हुन्, दक्षिण अफ्रिकाका स्टार लेग स्पिनर इमरान ताहिर। जसले भारतीय मूलकी केटीसँग विवाह गर्न आफ्नो देशको नागरिकता नै परित्याग गरे।
ताहिर सन् १९९८ मा पाकिस्तानको जुनियर टिममा समावेश भइसकेका खेलाडी हुन्। पाकिस्तानको ‘ए’ टिमबाट दक्षिण अफ्रिकाको भ्रमण गर्ने क्रममा उनको भेट भारतीय मूलकी एक मोडल सुमैया दिल्दारसँग भएको थियो। त्यति बेलादेखि नै उनी सुमैयाको प्रेममा परेका थिए।
डरबनमा उनीहरूको पहिलो भेट भएको थियो। भ्रमणपछि इमरान पाकिस्तान फर्किए तर उनले सुमैयालाई बिर्सन सकेनन्।
केही समयपछि उनी सुमैयालाई पुनः भेट्न दक्षिण अफ्रिका फर्किए। लामो समयपछि सुमैया पनि उनीसँग विहे गर्ने कुरामा राजी भइन्। तर, उनको सर्त थियो – विहेपछि दुबै दक्षिण अफ्रिकामै बस्नु पर्ने। यो कुरालाई ताहिरले २००६ मा स्विकार गरे र पाकिस्तान छोड्ने निर्णयमा पुगे।
ताहिरसँग विहे भएपछि सुमैयाले पनि मोडलिङबाट सन्यास लिइन्। ताहिरले दक्षिण अफ्रिका पुगेर पनि क्रिकेटलाई निरन्तरता दिए। त्यसको केहीपछि नै उनले घरेलु टिममा स्थान बनाए। सन् २०११ मा उनलाई अफ्रिकी टोलीले टिममा स्थान दियो। यसपछि ताहिरले फर्किएर हेर्नु परेको छैन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) बाट आफ्नो ध्यान खिच्न सफल इमरान २०१७ को फेब्रुअरीमा एकदिवसीय र टि–२० को नम्बर–१ बलर घोषित भएका थिए।
ताहिरले २० टेस्टको ३७ इनिङमा ५७ शिकार गरेका छन्। ८१ एकदिवसीयमा भने उनले १ सय ३८ विकेट लिइसकेका छन्। उनको उत्कृष्ट प्रदर्शन ४५ रन खर्चेर ७ विकेट लिनु हो। टि–२० को ३६ खेलमा उनले ५७ विकेट लिएका छन्।
नेपाल लाइभ