सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरीको आयोजनामा सोमबारदेखि सुरु भएको हिसान स्पोर्टस मिट शनिबार सकिएको छ । शनिबार इटहरीमा मारुणी नृत्य प्रतियोगिताको आयोजना संगै एक सातादेखी चलेको स्पोर्टस मिट सम्पन्न भएको हो ।

शनिबार इटहरीमा सम्पन्न मारुणी नृत्य प्रतियोगितामा धरानका उच्च माबिहरुले बर्चश्व कायम गरेका छन । प्रतियोगिताको प्रथम स्थान धरान आदर्श माबि भयो भने धरान उच्च माबि द्धितिय स्थान हासिल गर्न सफल भयो । यस्तै अल्पाइन उच्च माबिले तेसो्र स्थान ओगट्न सक्यो ।

यस्तै डिपो उच्च माबिले सान्तवना जित हात पार्यो । साताब्यापी खेलकुद महोत्सवको समापनको अवशरमा शिक्षा क्षेत्रमा योगदान दिएको भन्दै प्राध्यापक डाक्टर टंक न्यौपाने, लेखनाथ घिमिरे र मेजर श्रवन कुमार लिम्बुलाइ हिसान शिक्षा रत्न सम्मानबाट सम्मानित गरियो । उहाहरुलाइ इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीले सम्मान गर्नुभयो ।

बिगत ६ बर्षदेखी माघ महिनामा हुदै आएको जिल्ला स्तरीय अन्तर उच्च मावि खेलकुद सप्ताह गत सोमबारदेखी सुरु भएको थियो । सप्ताहव्यापी खेलकुद कार्यक्रममा फूटवल तर्फ १६, क्रिकेट तर्फ १०, वास्केटवल तर्फ ११, भलिवल छात्रा तर्फ ८, हाजिरि जवाफ तर्फ १४ र मारुनी नृत्य तर्फ १३ वटा विद्यालयका टिमको सहभागिता रहेको थियो ।

जिल्लाका नीजी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र–छात्राहरुका प्रतिभा र क्षमताको प्रदर्शनको लागि हरेक वर्ष यस्तो कार्यक्रम आयोजन गर्ने गरिएको र आगामी बर्ष अन्य प्रतियोगिताहरु थप गर्दै जाने खेल संयोजक तथा सदस्य सागर भट्टराईले जानकारी दिनुभयो । इटहरीको डिभिएम स्कुलको खेद मैदानमा क्रिकेट प्रतियोगिता भएको थियो ।

सो प्रतियोगिताको उपाधी बिश्वआदर्श कलेजले जितेको थियो । यस्तै इटहरी रंगशालामा सम्पन्न भएको छात्रा तर्फको भलिवल प्रतियोगिताको उपाधी पनि बिश्वआदर्शले जितेको थियो । यसैगरी एन्फा एकेडेमीको खेल मैदान धरानमा सम्पन्न फूटवलको उपाधी कस्तुरी कलेजले जित्यो भने डिपोट स्कुल धरानमा सम्पन्न वास्केटवलमा डिपोट स्कूलले जितेको थियो । यस्तै युरेका स्कुल धरानमा भएको हाजिरिजवाफ प्रतियोगितामा कोशी सेन्टजेम्स उच्च माबि प्रथम भएको थियो ।