पानवारी/ मेयरकप स्कुल ओलम्पिक अन्तर्गत मंगलबार फुटबलका तीन खेल सम्पन्न भएका छन् ।  धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भइरहेको फुटबल खेलमा ज्ञानोदय मावि, शिक्षा सन्देश र किरातेश्वर माविले जित हासिल गरेका छन् । मंगलबार भएको पहिलो खेलमा ज्ञानोदय मावि धरान–११ ले च्याम्पियन बोर्डिङ स्कुल धरान–८ लाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । ज्ञानोदयको तर्फबाट सञ्जीत राई र मिलन राई दुई दुई गोल गरेका थिए भने सुमन लिम्बू र प्रविण राईले एक एक गोल गरेका थिए ।

त्यस्तै मंगलबार भएको दोस्रो खेलमा धरान–६ को शिक्षा सन्देश बोर्डिङ स्कुलले धरान–२० को भालढुंगा माविलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित सयमको खेल १–१ गोलको बराबरीमा सकिएपछि भएको ट्राइब्रेकरमा शिक्षा सन्देश विजयी भएको थियो ।

निर्धारित समयमा शिक्षा सन्देशका तर्फबाट अनिस राई र भालढुंगाको तर्फबाट अजय विष्टले गोल गरेका थिए । ट्राइब्रेकरमा शिक्षा सन्देशका तर्फबाट आशिष राई, नितेश लिम्बू र निश्चल श्रेष्ठले गोल गरे भने सन्दीप कटवाल र विरेन मगरले गोल गर्न सकेनन् । भालढुंगाको तर्फबाट भने अर्पण राई र गौरब मगरले मात्र गोल गरेका थिए । अविशेख राई र अनिष राईले गोल गर्न चुक्दा भालढुंगा पराजित भएको थियो ।

मंगलबार भएको अन्तिम खेलमा किरातेश्वर मावि धरान–१९ ले पञ्चकन्या मावि धरान–१७ लाई २–० गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । किरातेश्वरको तर्फबाट आमोद लिम्बू र विनोद राईले गोल गरेका थिए । सोमबारबाट सुरु भएको खेलमा विजयी टिम दोस्रो चरणमा प्रवेश गरेका छन् भने पराजित टिमहरु प्रतियोगिताबाट बाहिरीएका छन् ।