पानवारी । विभागीय टिम नेपाल पुलिस क्लब २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ । युवा खेलाडीहरुले भरिएको नेपाल पुलिस क्लब विस्तारै लय समात्दै आफ्नो उपस्थिति बलियो बनाउदै लगेको छ । भर्खरै पोखरामा सम्पन्न भएको १६ औं आहा रारा गोल्डकपको उपाधि जितेको तथा बुढासुब्बाको साबिक विजेता पुलिसको युवा टोली निखारिदै गएकोे प्रशिक्षक अनन्तराज थापाले दाबी गरेका छन् ।

बुधबार भएको २० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा संकटा क्लब काठमाडौलाई २–१ गोल अन्तरले पराजित गरी पुलिसले फाइनल यात्रा तय गरेको हो । प्रतिष्पर्धात्मक खेलको निर्धारित समय एक एक गोलको बराबरी भएपछि अतिरिक्त समयको ११ औ मिनेटमा पुलिसका बुद्ध लामाले गोल गरी टोलीलाई जित दिलाएका थिए । उनले तेज तामाङले प्रहार गरेको सट कर्नरमा रेजिन लिम्बूले डिबक्स भित्र मिलाइदिएको पासलाई गोलमा परिणत गरेका थिए । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ९ मिनेटमा पुलिसका रेजिन सुब्बाले विपक्षी रक्षापंतीका तीन डिफेन्सलाई छक्याउदै प्रहार गरेको बल गोल किपरलाई लागेर जालि चुमेको थियो । सुब्बाको गोलसँगै अग्रता लिएको पुलिस माथि दोस्रो हाफको १९ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरी गरेका थिए । उनले सेडरिक अब्बाले मिलाइदिएको क्रसपासमा वानटच गोल गरेका थिए । बुढाथोकी खेलको म्यानअफ द म्याच घोषित हुदै नगद रु १० हजार प्राप्त गरे । खेलमा संकटा क्लबले अग्रता बनाउने सुनौलो अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफको २० औ मिनेटमा संकटाका प्रकाश बुढाथोकीले दिएको पासलाई डिबक्स भित्र अनमार्क रहेका सेडरिक अब्बाले गोल गर्न सकेनन् । उनले वान टचमा प्रहार गरेको भलि बल बारमाथिबाट बाहिरीएको थियो । पहिलो हाफको ४१ औं मिनेटमा पुलिसका सन्तोष हेमरोनले विपक्षी खेलाडी अब्बालाई लडाएपछि डिबक्स नजिक पाएको फ्रिकिकमा प्रकाश बुढाथोकी गोल गर्न चुके । उनले प्रहार गरेको फ्रिकिक पोष्ट नजिकबाट बाहिरिएको थियो । संकटाका रुपेश केसीले प्रहार गरेको कर्नर बल विदेशी खेलाडी अर्नेष्ट ताम्पीले फितलो हेड गरेका थिए ।

पुलिस टिममा एक महिना अघि मात्र सेट गरीएका खेलाडी सबै नयाँ तथा युवा छन् । युवा खेलाडी लिएर मैदानमा उत्रिएको पुलिस टिम आफ्नो ससक्त खेल प्रदर्शन गरेको थियो । पहिलो हाफको २३ औं मिनेटमा पुलिसका हेम तामाङले दिएको क्रस पासलाई डिबक्स भित्र अनमार्क रहेका रेजिन सुब्बाले प्रहार गरेको हेड फितलो हुदा विपक्षि गोल किपर विनय श्रेष्ठले सहजै नियन्त्रणमा लिएका थिए । त्यस्तै गरी दोस्रो हाफको चौथो मिनेटमा पुलिसका तेज तामाङले डिबक्स नजिकबाट ससक्त प्रहार गरेको बल बार माथिबाट बाहिरीएको थियो । दोस्रो हाफको २६ औं मिनेटमा पुलिसका सुमन लामाले प्रहार गरेको फ्रिकिक बल पोल नजिकबाट बाहिरिएको थियो । संकटा क्बलका प्रशिक्षक सल्यान खड्गीले अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुनुपरेको बताए । उनले भने –‘अन्तिम समयमा आफ्नो डिबक्स भित्र बल क्लियर गर्दा कर्नर नहुनुपर्ने बल कर्नर भएकोले त्यसैमा गोल खानु परेको’ बताए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना युवा खेलाडीहरुले दिनदिनै खेलमा निखारता ल्याउदै गएको बताए । उनले भने सबै खेलाडी नयाँ छन्, युवा छन् त्यसैले डटेर खेल्नु नै जित भएको बताए । उनले भने –‘पुलिस टिमका खेलाडी राखेप च्याम्पियनसिपदेखी मात्र सेट गरेको युवा टिम हो, यही टिमले आहा रारा जितेको छ, अब बुढासुब्बाको पनि उपाधी जित्नेतर्फ अघि बढिसक्यो ।’ बिहीबार हुने अन्तिम सेमिफाइनल खेल काठमाडौको रुस्लान थ्रिस्टार क्लब र भारतको दुर्गापुर स्टिल क्लबबीच हुनेछ ।

फाेटाेः ब्लाष्ट/उपेन्द्र चाम्लिङ