काठमाडौं । नामिबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सुुखद सुरुवात गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक निकालेको हो । नियमित ब्याट्सम्यानहरूले फेरि एक पटक अपेक्षाकृत प्रदर्शन गर्न नसकेको खेलमा बलरहरुले नेपाललाई जिताए । १३९ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रहृयो । टिमले खाता खोल्न नपाउँदै ओपनर दिलिप नाथ आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३२ रनको साझेदारी गर्दै कप्तान पारस खड्का व्यक्तिगत १९ रनमा आउट भए ।
लगतै आरिफ शेख शुन्यमै आउट भए । पाँचौं नम्बरमा शरद भेषावकर आए तर, लगतै ज्ञानेन्द्र व्यक्तगत १५ रनमा आउट हुन पुगे । दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा करण केसीले ३ रन मात्र जोडे । डेब्यू ब्वाइ रोहितकुमार पौडेलले शरदलाई साथ दिने प्रयास गरे र सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे । शरद व्यक्तिगत २९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९७ रन थियो । थप ११ रन जोड्दा रोहित पनि आउट भए । १७ रन बनाएका उनी एलबीडब्लू धरापमा परेका थिए ।
त्यसपछि बसन्त रेग्मी र सोमपाल कामीले पारी सम्हाल्ने प्रयास गरे । तर, नवौं विकेटका लागि १७ रनको सझेदारी गरेका सोमपाल ४७ औं ओभरमा बोल्ड हुन पुगे, जतिबेला नेपाललाई २० बलमा १८ रन चाहिएको थियो । ४८ ओभरमा नेपालले २ रन मात्र जोड्यो भने अर्को ओभरमा बसन्तले छक्का हान्दै जित तर्फ डोहोर्याए । अब अन्तिम ६ बलमा ७ रन चाहियो ।
पहिलो बलमा २ रन लिएको नेपालका लागि दोस्रो बलमा बसन्तले चौका हाने । तेस्रो बल फ्राइलिंकले वाइड फालेपछि नेपालले ३ बल खेल्नु अघि नै रोमाञ्चक जित निकाल्यो ।
सन्दिपले लिए ४ विकेट
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीको पनि सुरुवात राम्रो थिएन । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपाली बलरहरुले ३४.२ ओभरमा १३८ रन बनाउँदा नामिबियालाई अलआउट गरेको थियेा । उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । ग्रिन र जान फ्राइलिंकले समान २२ रन जोडे ।
नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए । सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १-१ विकेट आफ्नो नाममा लेखाए । खेलमा सन्दिप म्यान अफ दि म्याच बने ।