बेलबारी । मोरङको सुन्दरहरैंचा स्थित पानस वचत तथा ऋण सहकारी संस्था लि.मा ९१ लाख भन्दा माथिको रकम घोटला भएको छ । संस्थामा रकम घोटला भएको जानकारी पाएपछि संचालक समितिले संस्थाका कर्मचारी विरुद्ध ईलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएको छ । प्रहरीमा उजुरी पश्चात संस्थाका व्यवस्थापक विमला श्रेष्ठ अर्का कर्मचारी आश्मा चौलागाईश्रेष्ठ सहित चारजनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामजी कटवालले बताएका छन् । सहकारीको साधरणसभा गर्ने बेलामा संस्थाको हिसाव किताव र खाता पाता नमिले पछि घोटलाको आशंका गरि छानविन गरेको थियो । सोही क्रममा संस्थामा ९१ लाख भन्दा माथि रकम घोटला भएको संस्थाका अध्यक्ष देवेन्द्र मास्केले बताएका छन् । अध्यक्ष मास्केका अनुशार योजना वद्ध कर्मचारीले २०७०–७१ साल देखि नै घोटला गर्न थालेको बताएका छन् । संस्थामा घोटला भएको आशंका पछि गरिएको छनविनमा सो फेला परेको हो । अध्यक्ष मास्के भने कलेजोको विरामीका कारण अस्पतालबाट भर्खर केहिदिन मात्र घर आएका हुन् । संस्थामा घोटला भएपछि त्यसलाई व्यवहारिक रुपमा मिलाउन संस्थामा नै आन्तरिक रुपमा प्रयास गरिएको बुझिएको छ । त्यसो गर्दा पनि हिसावको पारदर्शिता हुन नसक्ने आवाज उठेपछि कानुनी कारवाही प्रक्रिया अगाडि बढाईएको बुझिएको छ । संस्थामा घोटला भएको विषयमा जिल्ला वचत तथा ऋण सहकारी संस्था लि. मोरङका अध्यक्ष हरिप्रसाद सुवेदीलाई पनि छलफलमा बोलाएका थिए । जिल्ला वचतका अध्यक्ष सुवेदीका अनुशार संस्थाको घोटलाको विषयले सहकारी संस्था माथि नराम्रो सन्देश गएको छ । यस घटनामा कर्मचारीको साथ साथै लेखा परिक्षकको पनि संलग्नता भएको हुन सक्ने अध्यक्ष सुवेदीको भनाई छ । प्राप्त जानकारी अनुशार कर्मचारीले फर्जी भौचर, भर्पाई, कर्जा पेश गरेर घोटला गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रहरी निरीक्षक कटवालले भने घटना बारे अनुसन्धान पछि मात्र घोटलामा ककस्को संलग्नता रहेको छ त्यसबारे जानकारी दिने बताएका छन् । संस्थामा ४ सय ८३ जना शेयर सदस्य रहेका छन् । संस्थाको कुल पुँजी करिब डेढ करोढ रहेको छ ।