विराटनगर/एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । मुख्यमन्त्रीमा को हुने भन्ने विवाद अन्तत चुनावी प्रक्रियाबाट टुंगिएको छ । शुक्रबार दिउँसो विराटनगरको जिल्ला समवन्य समितिको कार्यालय मोरङमा सम्पन्न भएको निर्वाचनमा प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । एक मत भने बदर भएको छ । जितसँगै राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न आन्तरिक चुनाव गराएको थियो । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए । मुख्यमन्त्रीका अर्का दाबेदार जीवन घिमिरेलाई भने नेपाल समूहले अन्तिम चरणमा ब्याक गराएका थिए । तर, पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका हुन् । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत अर्थात ५१ सांसद छन् । माओवादीको १६ सांसद छ र वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेकै भागमा गरेको छ । केपी ओली समूहका राईले माधव नेपाल समूहका भीम आचार्यलाई पराजित गरेका हुन् । संसदीय दलको नेता निर्वाचितभएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राईले संसदीय दलको बैठक बसेर केही दिन भित्रमा सरकार गठन गर्ने बताए । उनले ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार गठन हुने जानकारी दिए । ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ,’ उनले भने । अब बन्ने सरकारले प्रदेश १ लाई नमुना प्रदेश बनाउने उद्घोष गरे । उनले प्रदेशलाई भ्रष्टाचारमुक्त समृद्ध प्रदेश बनाउने बताए । ‘दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा गर्ने छैन,’ उनले भने, ‘सबै माननीय सदस्यलाई एक समान दृष्टिले हर्नेछु ।’ उनले सबै माननीय सदस्यलाई जिम्मेवारी समेत प्रदान गर्ने बताए । यता संसदीय दलको नेतामा पराजित भएका एमाले नेता भिम आचार्यले अब पार्टीमा सक्रिय रुपमा लागि पर्ने बताए । सभामुखमा अवसर आयो भने नि ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासमा उनले भने, ‘सभामुखमा मेरो इच्छा छैन । पहिले पनि पार्टी राजनीतिमा सक्रिय थिए । अब पनि पार्टी राजनैतिकमा नै लागि पर्दछु ।’ को हुन् शेरधन राई ? २०२७ साल फागुन ११ गते आमचोक गाउँपालिका भोजपुरमा जन्मिएका शेरधन राईले २०४४ सालदेखि विद्यार्थी राजनीति गरेका हुन् । बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट जन्मिएका उनी भलिबल खेलाडी पनि हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका राईले तीन वर्ष भूमिगत जीवन बिताएका छन् । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक हुन् । ०४७ सालमा पार्टीको सदस्यता लिएका राईले त्यसपछि २ पटक सम्म विद्यार्थी संगठनको पूर्वाञ्चल प्रमुख भएर काम गरे । त्यसपछि भोजपुर जिल्लाको पार्टी कमिटिमा निर्विरोध चयन हुँदै ४ पटक भूमिका निर्वाह गरे । ‘भोजपुर जिल्लाको इतिहासमा म नै निर्विरोध निर्वाचित भएको एउटा मात्रै पात्र हुँ,’ राईले भने, ‘पदाधिकारी लेबलमा लामो समय काम गर्ने र उत्कृष्ट काम गरेको म नै हुँ ।’ २०५४ सालमा एमाले विभाजन हुँदा होस् या ०६२÷०६३ सालपछि भएको पहिलो संविधानसभा पछि अशोक राईहरुले पार्टी छाड्दा पनि अविचलित भएर राई एमालेमै रहिरहे । ०५६ सालको निर्वाचनमा सबैभन्दा कान्छो सांसदको रुपमा २७ वर्षमै राज्यको निति निर्माण गर्ने तहमा पुगेका राई ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि भोजपुरको २ नम्बर क्षेत्रबाट विजयी भएका थिए । संविधानसभामा रहँदा सुशासन समितिमा रहेर काम गरेका राई केपी ओली नेतृत्वको सरकारका पालामा उत्कृष्ट संचारमन्त्री भएर काम गरेको सबैले बताउँछन् । ‘सरकारको सफल संचारमन्त्रीको रुपमा मैले काम गरेको थिएँ,’ उनले भने, ‘मेरा सबै कार्यकाल सफलतापूर्वक सम्पन्न भएका छन् ।’ गाउँमै ७ कक्षासम्म अध्ययन गरेका राईले भोजपुरको घोडेटारमा रहेको सगरमाथा माविबाट एसएलसी, भोजपुर बहुमुखी क्याम्पसबाट स्नातक र काठमाडौंको पाटन क्याम्पसबाट एमएसम्मको अध्ययन गरेका छन् । शुक्रबार दिउँसो मोरङको जिल्ला समन्वय समितिको कार्यालयमा भएको मतदानमा राई प्रदेश १ एमाले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । उनै राई यो प्रदेशबाट मुख्यमन्त्री बनेको हेर्न केही दिन मात्रै कुर्नुपर्नेछ ।