पानवारी । मेयरकप स्कुल ओलम्पिक अन्तर्गत शुक्रबार फुटबलका तीन खेल सम्पन्न हुँदा किरातेश्वर मावि, ज्ञानोदय स्कुल र आइडियल स्कुल विजयी भएका छन् ।
धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भइरहेको प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा किरातेश्वर मावि धरान–१९ ले ज्वालामुखी मावि धरान–१७ लाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि ट्राइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । ट्राइब्रेकरमा किरातेश्वरको तर्फबाट सनम लिमबू, घनेन्द्र राई, सन्तोष श्रेष्ठ र रिवाज परियारले गोल गरे भने न्युसन लिम्बूले गोल गर्न सकेनन् । त्यस्तै ज्वालामुखि स्कुलको तर्फबाट खेमकुमार राई र जीतबहादुर राईले मात्र गोल गरे भने दिनेश खड्का र सन्देश राईले गोल गर्न सकेनन् ।
शुक्रबार भएको दोस्रो खेलमा धरान–११ को ज्ञानोदय स्कुलले धरान–१८ को डिपोट स्कुललाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको छ । डिपोटको तर्फबाट माइनस राई, मंजील राई र सुवर्ण राईले मात्र गोल गरे भने उज्वल राई र रिकेश राईले गोल गर्न सकेनन् । त्यस्तै ज्ञानोदयको तर्फबाट सुमन लिम्बू, किशोर राई, महेश राई र प्रविण राईले गोल गरे भने दिपेन माझिले गोल गर्न सकेनन् ।
शुक्रबार भएको अन्तिम खेलमा आइडियल बोडिङ स्कुल धरान–१४ ले सत्यसाई स्कुल धरान–१३ लाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । आइडियलको तर्फबाट दिपेश कट्वालले ह्याट्रिक गरे भने अंकित खड्काले २ गोल गरे त्यस्तै मिनेट तामाङ र समिर तामाङले एक एक गोल गरेका थिए ।
नकाउट पद्धतीमा भइरहेको प्रतियोगितामा विजयी टिम अघिल्लो चरणमा प्रवेश गर्नेछन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरीनेछन् । शनिबार युरेका स्कुल र सियोन स्कुल पहिलो खेलमा प्रतिष्पर्धा गर्दैछन् भने दोस्रो खेलमा केके इन्टरनेशनल स्कुल र पदम मेमोरियल स्कुल प्रतिष्पर्धा गर्दैछन् ।
हिमाली मावि कार्वाहीमा
मेयरकप स्कुल ओलम्पिक २०७४ मा नियम विपरित खेलाडी सहभागि गराउने धरान ५ को हिमाली मावि कार्वाहीमा परेको छ ।
माघ २२ गतेदेखि धरान १७ स्थित एन्फा एकेडमीमा जारी फुटबल प्रतियोगितामा नियम उलंघन गर्दै हिमाली माविले स्कुल बहिरबाट ३ जना खेलाडी सहभागि गराउदा कारबाहीमा परेको हो । मेयर स्कुल ओलम्पिकमा कक्षा १० सम्मका विद्यार्थीलाई सहभागि गराउनु पर्नेमा हिमाली माविले विद्यालय बाहिरका ३ जना खेलाडी सहभागी गराएकोले ओलम्पिकबाट निस्काशन गरिएको धरान नगर खेलकुद विकास समितिका संयोजक सुवास राईले बताए ।
राईले भने, –‘शुक्रवार भएको पहिलो चरणको खेलमा हिमालीले पब्लिक मावि धरानलाई २–१ को गोल अन्तरले हराएको थियो । नगर खेलकुद विकास समितीका अनुसार सो विद्यालयलाई ओलम्पिकबाट निस्काशन गरिएको छ । हिमाली माविलाई ३ वर्षसम्म निलम्वन गर्ने तयारी आयोजकले गरेको छ । ओलम्पिकको नियम उलंग्घन गर्ने विद्यालयलाई ११ हजार जरीवाना सहित ३ वर्ष सम्म कुनै पनि खेलमा सहभागि नगराउने व्यवस्था यस अघि नै धरानका विद्यालयहरुसँग समन्वय गरेर बनाइएको थियो । बास्केटवल र फुटवल खेलहरु भैरहेका छन् भने ओलम्पिको औपचारीक उद्घाटन माघ २९ गते धरान–१६ स्थित रंगशालामा हुने आयोजकले जनाएको छ ।