काठमाडौं । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो तेस्रो खेलमा नेपालले युएईमाथि ४ विकटको महत्वपूर्ण जित हात पारेको छ । विश्वकप छनौट खेल्ने आफ्नो सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नैपर्ने थियो ।
टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै युएईलाई ११४ रनमै अलआउट गरेको थियो । युएईका लागि शाइमन अनवरले मात्र सर्वाधिक ३० रनको योगदान दिए । बलिङतर्फ नेपालका सोमपाल कामीले ४ विकेट लिए भने सन्दिप लामिछानेले ३ विकेट हात पारे । त्यस्तै कप्तान पारस खड्काले २ विकेट लिए भने करन केसीले १ विकेट हात पारे ।
उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने २८.५ ओभर खेल्दै आफ्नो ६ विकेटको क्षतिमा ११५ रन बनाएर जित हासिल गर्न सफल भयो । नेपालका लागि कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै ५१ रनको अर्धशतकीय योगदान दिए । अलराउण्ड प्रदर्शन गरेका कप्तान खड्का खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै आरिफ शेखले पनि १६ रनको योगदान दिए ।
यो जितसँगै नेपालले यसै बर्ष जिम्बाब्वेमा हुने विश्वकप छनौट खेल्ने आफ्नो सम्भावना कायमै राखेको छ । प्रतियोगिता अन्तरगत नेपालले आफ्नो चौथो खेल भोली सोमबार केन्यासँग खेल्नेछ ।