बिर्तामोड/ नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले एमाले र माओवादी केन्द्रको बीचमा हुन लागेको एकता झापा र रोल्पा आन्दोलनको फ्युजन भएको बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शर्माले २०२८ सालको झापा बिद्रोह र माओवादीले गरेको जनयुद्धको फ्युजन अहिलेको पार्टी एकता भएको बताए । उनले एउटै घोषणापत्रमा चुनाव लडेका दलबीच हुने भनिएको एकतालाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए । पार्टी एकताका लागि कुनै पनि ठुला अन्तरहरु देखा नपरेको भनाइ उनको थियो ।
‘हाम्रो एकता त घोषणापत्र सार्वजनिक गर्दा नै भइसकेको थियो, नेता शर्माले भने–‘त्यसले पुर्णता पाउन अहिले बिभिन्न छलफल भइरहेका छन् । राष्ट्रियसभाको निर्वाचनका कारण छलफल गर्ने पर्याप्त समय पाएको उनले बताए । दुइ दलबीच भइरहेको छलफलले निकास दिने उनले बताए ।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजपनि छलफल चलेर एउटा निष्कर्ष निस्किएको छ, त्यो के भने अब कार्यदललाई तीनदिनभित्रमा एकताको स्वरुप दिन बाटो खुलेको छ, त्यही निष्कर्ष अनुसार काम शुरु भएको छ । एकतापछि सरकार निर्माण हुन्छ– शर्माले भने ।’
उनले ओली र दाहाललाई सह–अध्यक्ष मानेर महाधिवेशनमा जाने सहमति गर्दै एकता घोषणा हुने बताए । अहिलेकै स्वरुपमा महाधिवेशनमा जाने उनले बताए । पार्टीको सिद्धान्त पनि महाधिवेशनले निर्दिष्ट गर्ने उनले बताए । ‘महाधिवेशनसम्म हामी माओवाद र जनताको बहुदलीय जनवादलाई बहसको रुपमा लैजान्छौंं, नेता शर्माले भने–‘महाधिवेशनले पार्टीको सिद्धान्त तय गर्ने कुरामा ढुक्क हुन अनुरोध गर्दछु ।’ शर्मा माओवादी केन्द्र र एमालेबीच हुन लागेको एकताका एकजना सुत्राधार समेत हुन् । समान र सम्मानजनक हैसियतमा दुइ पार्टीबीच एकता हुने उनले बताए ।