युरोपियन च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लिगमा मंगलबार राति म्यानचेस्टर सिटी र बसेल तथा यूभेन्टस र टोटनह्यामबीच प्रतिस्पर्धा हुँदैछ ।

पछिल्ला ६ वर्षमा लगातार समूह चरण र सेमिफाइनलबाट बाहिरीएको म्यान्चेस्टर सिटीले मंगलबार राति घरेलु मैदानमा स्विस क्लब बसेलसँग खेल्दैछ । नियमित ७ सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाएको सिटी दुई पटक समूह चरणबाट बाहिरीएको थियो भने तीन पटक अन्तिम १६ र एक पटक सेमिफाइनलबाट आउट भएको थियो ।

तर यो सिजनमा राम्रो फर्ममा रहेको सिटीले तुलनात्मक रुपमा कमजोर मानिएको बसेलसँग प्रि-क्वाटरफाइनल खेल्दैछ ।

पछिल्ला १० सिजनमा बार्सिलोना र रियाल मड्रिडले तीन तीन पटक र बार्यन म्युनिखले एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । दशौं पटक सिजन सिटीबाट खेलिरहेका कप्तान भिन्सेन्ट कोम्पनीले अघिल्ला संस्करणहरुमा टिममा अनुभवको कमि रहेकाले राम्रो नतिजा निकाल्न नसकेको बताउदै यो पटक उपाधि जित्ने लक्ष्य रहेको बताए ।

प्रशिक्षक पेप ग्वार्डियोलाले चोटका कारण सानेले मंगलबारको खेल गुमाउने बताए । एफ कप अन्तर्गत कार्डिफ विरुद्धको खेल उनको एङकलमा चोट लागेको थियो । जसका कारण उनी सात हप्ता मैदान बाहिर हुनेछन ।

मंगलबार राति नै हुने अर्को खेलमा उपाधिको दावेदारमा पर्ने यूभेन्टसले घरेलु मैदानमा इग्लिस क्लव टोटनह्यामसंग खेल्नेछ । तर युभेन्टसलाई यसपटक खेलाडीको चोटले निकै सताएको छ । मिडफिल्डर ब्लेइसी मातुइदी र स्ट्राइकर पाउलो डेबाला तथा गोलकिपर बुफोन पुर्ण रुपमा फिट छैनन ।

टोनह्यामका लागि मुख्य चुनौती युभेन्टसको डिफेन्सलाई तोड्नु हुनेछ । युभेन्टसले पछिल्ला १६ खेलमा एक गोलमात्र खाएको छ । टोटनह्यामका लागि हेरी केनको प्रदर्शन मुख्य हुनेछ ।