विश्व क्रिकेट लिग डिभिजन टूको निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १विकेटको सनसनीपूर्ण जित निकालेकाे छ ।
जितसँगै नेपालको एक दिवसीय विश्वकप खेल्ने सपना साकार हुने सम्भावना बढेकाे छ । लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।
नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई एक विकेटले हराएसँगै नेपाल डिभिजन वनमा पनि उक्लने पक्का भएको छ ।
विन्डहकमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ९४ रन बनायो । क्यानडाको स्कोर ४६ रनमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुँदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुँदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए ।
क्यानडाका लागि हम्जा तारीक २४ र ओपनर श्रीमन्थले शतकीय पारी खेले । उनले अविजीत एक सय तीन रन बनाए । बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।
जवाफमा नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरयो । नेपालका ओपनरले आजपनि सुरुवात राम्रो गर्न सकेनन । ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भएपछि नेपालले २२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो ।
तेस्रो विकेटका लागि दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर ७३ रन बनाउदा नेपालले चार विकेट गुमाउन पुग्यो । नेपालका लागि दिलिप नाथले ४१ रन बनाउँदा शरद भेषवाकर मात्र एक रनमा आउट भए । त्यसपछि दिपेन्द्रसिंह ऐरी पनि १८ रनमा आउट भएपछि नेपालले ८१ रनमा पाच विकेट गुमायो ।
नेपालका लागि रोहित पौडेले २७ तथा आरिफ शेखले २६ रन बनाए । अन्तिममा करन केसीको उत्कृष्ट ब्याटिङका कारण नेपालले गुमाइसकेको खेल आफनो पक्षमा पार्न सफल भयो । अन्तिम ओभरमा ८ रन चाहिएकोमा करनले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । करनले अविजित ४२ रन बनाए ।
तर पनि नेपालको पुरै प्रतियोगितामा ब्याटिङ निकै कमजोर बन्यो । बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने हरेक खेलमा आलोचनाको पात्र बन्यो ।
नेपालले ५ मध्ये ४ मा जित निकाल्दै ८ अकंसहित शीर्ष स्थानमा रहन सफल भयो । घरेलु टोली नामिबियालाई पराजित गर्दै युएई दोस्रो स्थानमा रहदै विश्वकपको छनौटका लागि छानिएको छ ।
५ मध्ये ३ खेल जित्दै क्यानडा र नामिबिया र युएईले समान ६ अंक जोडे पनि युएई रनरेटका आधारमा शीर्ष दुईमा पर्न सफल भएको हो ।