काठमाडौं : डिभिजन टू को शीर्ष स्थानमा रहँदै नेपाल अर्को महिना जिम्बाब्वेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको छ।
बुधवार भएको लिग चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै नेपाल लिगमा ५ खेलबाट ८ अंक जोड्दै पहिलो भएको हो। नेपालसँगै ६ अंक जोडेको युएई दोस्रो हुँदै वर्ल्ड कप क्वालिफायरमा पुगेको छ।
मार्च ५ देखि २५ सम्म हुने उक्त क्वालिफायरमा टेष्ट मान्यता प्राप्त राष्ट्रहरु वेष्ट इन्डिज, जिम्वाब्वे, अफगानिस्तान, आयरल्याण्डसँगै डब्लुसिएलको शीर्ष चार स्थानमा रहेका नेदरल्याण्ड्स, स्कटल्याण्ड, हङकङ र पपुवान्युगिनी समेत छन्। नेपाल र युएईले पनि क्वालिफायरमा स्थान बनाएपछि अब कूल १० राष्ट्रबीच सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्ड कपमा आवश्यक दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
अहिले क्वालिफायरको समूह ए मा आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र वेष्ट इन्डिज छन्। यस्तै समूह बी मा जिम्बाब्वे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्। अब भोलि बिहीबार नेपाल र युएईबीच डिभिजन टु को फाइनलमा जित्ने टिम समूह ए मा रहनेछ र भने उपविजेता समूह बी मा रहनेछ। नेपालले २७ फेब्रुअरी र १ मार्चमा क्वालिफायरको वार्म अप म्याच खेल्नेछ।