काठमाडौं/ एमाले अध्यक्ष प्रधानमन्त्री पदमा आजै नियुक्त हुने भनिएपछि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक अड्चन देखाएको बुझिएको छ । देउवाले आजै प्रधानमन्त्री नियुक्त गर्न लागिएकोमा आपत्ति प्रकट गरेको स्रोतले बतायो । तर, देउवाको आपत्ति अर्थहीन बन्न पुगेको    छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बतायो, ‘आजै प्रधानमन्त्री नियुक्त गरिएकोमा देउवा चकित हुनुभएको छ ।’ देउवालाई केही कानुनविद्हरुले भेटेर संविधान अनुसार आजै प्रधानमन्त्री नियुक्त गर्न नसकिने जानकारी दिएका थिए ।

स्रोत अनुसार आजै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने सुझाव राष्ट्रपति कार्यालयलाई केही कानुनविद्हरुले पनि दिएका थिए ।

संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको बहुमत चाहिन्छ । तर, प्रतिनिधिसभा गठन नै भएको छैन । राष्ट्रपतिले संसद अधिवेशन आव्हान गरेपछि मात्र संसद गठन भएको मान्न सकिने ती कानुनविदहरुको तर्क छ । उनीहरुका अनुसार अहिले केपी ओली सांसद नै होइनन् किनभने उनले सांसद पदको सपथ लिएका छैनन् । सांसद तथा प्रतिनिधिसभाको कार्यकालको गणना सपथ लिएपछि मात्र सुरु हुन्छ ।

‘सांसद पदको सपथ नै नलिई ओली कसरी प्रधानमन्त्री बन्न सक्नुहुन्छ ?’ देउवालाई भेट्ने अधिवक्ताहरुको एक टोलीले प्रश्न उठाएको थियो । नाम उल्लेख नगर्ने सर्तमा ती अधिवक्ताले भने, ‘ओलीजी नै प्रधानमन्त्री बन्ने हो तर संविधानको प्रकृया   पुर्याउनुपर्छ । उहाँ सांसद बनिसक्नुभएको छैन । निर्वाचन आयोगले निर्वाचित घोषणा गरेर मात्र पुग्दैन, विधिपूर्वक सपथ लिएपछि मात्र सांसद बनिन्छ ।’

संविधान अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम औपचारिक रुपमा घोषणा गरेको ३० दिनभित्र नयाँ सरकार बनिसक्नुपर्छ । अधिवेशन आव्हान भएर नयाँ सांसदले सपथ लिएपछि मात्र प्रतिनिधिसभा गठन भएको मान्न सकिने ती अधिवक्ताहरुको तर्क छ ।

संविधान अनुसार प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्छन् । प्रतिनिधिसभा सदस्य पदको सपथ नलिएसम्म सदस्य मान्न नमिल्ने अधिवक्ताहरुको तर्कलाई राष्ट्रपति कार्यालयले सुनुवाई गरेन । सुनुवाई गरेको भए देउवा अरु केही दिन बालुवाटार रहन्थे ।

ओलीले आज अपरान्हबाट प्रधानमन्त्री पद समाल्ने भएका छन् । उनले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वाशको मत लिनुपर्ने छ ।

सरलपत्रिकाबाट