काठमाडौं/ विशेष अदालतले स्वास्थ्य मन्त्रालय अन्तर्गतका दुई डाक्टरको प्रमाणपत्र नक्कली भएको ठहर गरेको छ । अदालतले गाइनोकोलोजिस्टका रुपमा कार्यरत डा सुनिल आचार्य र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौंडामा कार्यरत डा रजनी अग्रवालको प्रमाणपत्र नक्कली भएको फैसला सुनाएको हो।

अख्तियारले एक वर्षअघि हालेको मुद्दामा फैसला गर्दै शुक्रबार उनीहरुको प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो। विशेषको यो फैसलापछि सरकारी दुई डाक्टर भ्रष्टाचारमा समेत दोषी ठहर भएका छन्। विशेष अदालत काठमाडौंमा उनीहरुको आजै अन्तिम सुनुवाइ भएको थियो। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले यस्तो फैसला सुनाएको हो।

अख्तियारले २०७३ भदौ ७ मा अग्रवाल र ८ गते आचार्यविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर गरेको थियो। डा अग्रवालले आइएस्सीको प्रमाणपत्र नक्कली बनाई एमबिबिएस अध्ययन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उनले नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी अस्पतालमा करार नियुक्ति लिएको भन्ने उजुरीको आधारमा अनुसन्धान तथा छानबिन हुँदा यस्तो रहस्य खुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौंडामा २०७२ बैसाख ३० देखि २०७२ असार मसान्तसम्म कार्यरत अग्रवालले नेपाल सरकारको मेडिकल अधिकृत पदमा नियुक्ति एवं बहाल भएको आरोपपत्रमा जनाइएको छ।